पोखरा ।
सबल अर्थतन्त्र निर्माणमा सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्नेमा पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
राजश्व अनुसन्धान कार्यालय, बुटवलले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले रजश्व चुहावट रोक्न एकमत व्यक्त गरे । राजश्व चुहावट नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले राजश्व अनुसन्धानमा व्यवसायीले पनि सघाउने बताए । अनुसन्धानका नाममा व्यवसायीको बदनाम गर्ने गरी छापा मार्ने कार्य नगर्न कार्कीले आग्रह गरे ।
कार्कीले भन्सारमा नै चोरी नियन्त्रण एवं सामानको राजश्व तिर्नका लागि कसिलो व्यवस्था गर्न सके राजश्व बृद्धि हुने र वास्तविक व्यवसायीले न्याय पाउने उल्लेख गरे । लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका अधिकारी पराजुलीले चोरी निकासीबाट आएका सामान नियन्त्रणतर्फ गर्ने तर्फ सबैको ध्यान जानुपर्ने बताइन् ।
राजश्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख अनुसन्धान अधिकृत सुवास श्रेष्ठले कर छली अपराध भएकाले राज्यले त्यस्ता व्यक्तिलाई छुट नदिने बताए । राजश्व चुहावट रोक्नका लागि नागरिकको सहयोग हुनुपर्ने उनको भनाई थियो । व्यवसायीलाई दुःख दिएर हैन, सहजीकरण गरेर नै राजश्व चुहावट रोक्नका निम्ति प्रयत्नशील रहेको श्रेष्ठले बताए ।
कार्यक्रममा राजश्व विभागका काम र र अधिकारबारे चर्चा गर्दै राजश्व कार्यालय बुटवलका निमराज भट्टराईले कपडा,मोटर पार्टस्, इलेक्ट्रोनिक्स सामान, मदिरालगायतका सामानमा बढि कर छलि हुने गरेको जानकारी दिए ।
राजश्व चुहावट गर्नेलाई राजश्व चुहावट ऐन २०५२ अनुुसार कारवाही हुने पनि उनले बताए । यस्तै राजश्व अनुसन्धान कार्यालय बुटवलका दीपेन्द्र श्रेष्ठले नेपाल सरकारले सामान ढुवानी गर्ने सवारी साधनमा लागू गरेको भेइकल एण्ड कन्साइटमेण्ट ट्रयाकिङ सिस्टम (भिसीटीएस) का प्रावधानबारे जानकारी दिएका थिए ।
सामान ढुवानी गर्दा अनिवार्य रुपमा भिसीटिएसको प्रयोग गर्नुपर्ने स्पष्ट पारे । कार्यक्रममा बोल्ने व्यवसायीहरुले अनधिकत व्यवसाय फस्टाउदै गएकोमा चिन्ता ब्यक्त गरे । अबैध कारोवार नियन्त्रणमा राज्यको ध्यान नजादा वैधानिक तरिकाले व्यवसाय गर्छु भन्नेहरु मर्कामा परेको उनिहरुको गुनासो थियो ।
प्रकाशित मिति २०८२ कात्तिक १५ गते शुक्रबार ०७:५८




