पोखरा ।
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी र समन्वयका विषयमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेकी छिन् ।
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा प्रधानमन्त्री कार्कीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेकी हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल अत्यन्तै प्रभावकारी र सकारात्मक रहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।
उनकाअनुसार सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेशस्तरमा रहेको शान्ती सुव्यवस्था लगायत विषयमा प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ गरेका थिए ।
आगामी निर्वाचन, सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका विषयमा संघीय तथा प्रदेश सरकारबीच कसरी प्रभावकारी समन्वय गर्न सकिन्छ ? भन्ने विषयमा गम्भीर छलफल भएको सञ्चारमन्त्री खरेलको भनाइ छ ।
उनले सबै तहका सरकार मिलेर आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आ–आफ्नो भुमिका प्रभावकारी बनाउने सहमति बैठकमा भएको पनि जानकारी दिए ।
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले अन्तरिम सरकारले संघीयताको मर्म र भावनाअनुसार समन्वय नगरेकोप्रति आपत्ति जनाए ।
उनले आगामी २१ फागुनमा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण निर्माण भइनसकेको बारेमा प्रधानमन्त्री कार्कीसँग सरोकार राखेको पनि बताए ।
उनले निर्वाचनको वातावरण बनाउन सरकारले सुरक्षाको अनुभुति र सुरक्षा निकायको मनोबल बढाउनुको विकल्प नरहेको भन्ने सुझाव दिएको पनि बताए ।
त्यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रधानमन्त्री कार्कीसँग अगामी निर्वाचन र प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरेर अगाडि जाने विषयमा छलफल भएको बताए ।
प्रधानमन्त्री कार्की संघीयता र आगामी निर्वाचनको बारेमा अत्यन्त सकारात्मक देखिएको पनि उनले उल्लेख गरे ।
उता कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले मुलुकमा शान्ती सुव्यवस्था कायम भइनसकेको अवस्थामा निर्वाचन हुन नसक्ने उल्लेख गर्दै निर्वाचनको वातावरण गर्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरेको बताए । प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्न सहयोग गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेको र सोकुरामा सहमति भएको उनको भनाइ छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा सबै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेकी हुन् । यसअघि सरकारले सबै राजनीतिक दल र जेन–जी प्रतिनिधिहरुसँग समेत छलफल गरिसकेको छ ।
प्रकाशित मिति २०८२ कात्तिक १८ गते सोमबार ०९:१०




