काठमाडौं ।
नेकपा एमाले सचिव छविलाल विश्वकर्माले देशको राष्ट्रिय राजनीतिक विषम परिस्थितिमा रहेको बताएका छन् ।
बुधबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित स्थानीय सरकारका उपत्यकास्तरीय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले देशको परिस्थिति सामान्य नरहेको भन्दै असामान्य परिस्थितिका बीचमा पनि एमाले जनताको अधिकार सुरक्षाका लागि सडकमा लडिरहेको बताए ।
नेपाली जनताले आफ्नो जीवन, रगत, पसिनासँग साटेर ल्याएको र ठूलो त्याग र बलिदानबाट प्राप्त संविधानको रक्षार्थ खटिरहेको पनि उनले बताए ।
विश्वकर्माले अहिले संविधानलाई मूर्छित बनाइउको बताउँदै व्यवस्थाका विरुद्धमा अनेकौँ ढंगले चिथोर्ने गतिविधि भइरहेको बताए ।
एमाले संसद विघटनविरुद्ध अदालतमा जाने पनि उनको भनाइ थियो ।
उनले भने, ‘देशको राष्ट्रिय राजनीति, अहिलेको यो विषम परिस्थिति छ । अहिलेको परिस्थिति सामान्य छैन । यो असामान्य परिस्थितिकाबीचमा नेपाली जनताले आफ्नो जीवन, रगत, पसिनासँग साटेर ल्याएको धेरै ठूलो त्याग र बलिदानबाट प्राप्त यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अहिले यो संविधानलाई मूर्छित पारिएको छ । व्यवस्थाका विरुद्धमा अनेकौँ ढंगले चिथोर्ने गतिविधि भएका छन् । यस्तो परिस्थितिमा नेकपा एमाले अध्यक्ष कमरेडको नेतृत्वमा देशभरमा एउटै बुझाइका साथ नेकपा एमाले सडकमा उभिएको छ । असंवैधानिक रुपमा विघटित भएको संसदका सदस्यहरु कानूनी प्रक्रिया अघि बढाउने निष्कर्षमा पुगिसक्नुभएको छ ।’
सचिव विश्वकर्माले एमालेले चलायमान नभएको नेपाली समाज, राजनीतिमा नेकपा एमालेले आम जनताकाबीचमा आफ्ना धारणा अघि सारेर जनतालाई सूसुचित गरेको बताए ।
एकतावद्ध भएर संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षामा लागेको उनले बताए ।
प्रकाशित मिति २०८२ मंसिर ४ गते बुधबार ०२:४४




