२०८३ साउन २१ गते बिहीबार

‘महिलालाई समानुपातिक र समितिमै सीमित गर्ने परम्परा काँग्रेसले त्याग्नुपर्छ’ — भ्रातृसंगठन नेताहरू

‘महिलालाई समानुपातिक र समितिमै सीमित गर्ने परम्परा काँग्रेसले त्याग्नुपर्छ’ — भ्रातृसंगठन नेताहरू

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ५ गते बिहीबार ०३:२३

काठमाडौं । नेपाली काँग्रेसका भ्रातृसंगठनका पदाधिकारीहरूले महिलालाई समानुपातिक कोटा र उपभोक्ता समितिमै सीमित गर्ने पुरानो परम्परा अन्त्य गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्। नेपाल महिला संघले काठमाडौंमा बिहीबार आयोजना...

काठमाडौं ।

नेपाली काँग्रेसका भ्रातृसंगठनका पदाधिकारीहरूले महिलालाई समानुपातिक कोटा र उपभोक्ता समितिमै सीमित गर्ने पुरानो परम्परा अन्त्य गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।

नेपाल महिला संघले काठमाडौंमा बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा उनीहरूले महिला नेतृत्वलाई अवसर नदिने प्रवृत्तिका कारण पार्टीभित्र लैंगिक समानता संस्थागत हुन नपाएको टिप्पणी गरे।

नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य सुष्मा पाण्डेले महिलालाई अभी पनि ‘उपको दर्जा’मा राख्ने मानसिकता काँग्रेसले छाड्नुपर्ने बताइन्। “महिलालाई नेतृत्वको कोणबाट हेर्ने वातावरण बनेको छैन। समानुपातिक र उपभोक्ता समितिमै सिमित पारिन्छ, अब यस्तो परम्परा काँग्रेसले त्याग्नैपर्छ,” उनले भनिन्।

काँग्रेसकी महासमिति सदस्य इन्दिरा निरौलाले जेन–जी आन्दोलनपछिको परिस्थिति पार्टी र देश दुबैका लागि ‘प्रसव पीडा’ जस्तै भएको उल्लेख गर्दै महिलाको संवैधानिक सहभागिता सुनिश्चित गर्न पार्टीलाई गम्भीर हुन आग्रह गरिन्। उनले राजनीतिक संकट समाधानका लागि काँग्रेसले छिटो निर्णय दिनुपर्ने बताइन्।

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जेन–जी आन्दोलनपछिका विध्वंसकारी घटनामा पार्टीको स्पष्ट धारणा अझै सार्वजनिक नभएको आलोचना गरे। निजी आवासमा भएको आगजनी, तोडफोड र सिंहदरबारमा भएको क्षतिबारे काँग्रेसले छानबिन माग गर्दै औपचारिक प्रतिक्रिया दिनुपर्ने उनको जोड थियो।

युवा नेता अबुल हुसेन अन्सारीले महिलाका सवालमा पार्टीले ‘बोलाइ धेरै, काम कम’ गरेको आरोप लगाए। उनले आगामी चुनावमा प्रधानमन्त्री, राष्ट्रपति र पार्टी सभापतिको उम्मेदवारसमेत महिलालाई हुनुपर्ने माग राखे।

कार्यक्रममा अधिकांश वक्ताहरूले संवैधानिक अधिकारअनुसार राज्यका सबै संरचनामा महिला सहभागिता सुनिश्चित गर्न पार्टीभित्रैबाट परिवर्तन सुरु गर्नुपर्ने निष्कर्ष निकाल्दै छलफल समापन गरेका थिए।

प्रकाशित मिति २०८२ मंसिर ५ गते बिहीबार ०३:२३
हजुरको प्रतिक्रिया