२०८३ साउन २१ गते बिहीबार

पोखरामा ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना

पोखरामा ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर १७ गते मंगलबार ०७:५२

पत्रकारिताको क्षेत्रमा काम गरिरहेका पत्रकार सम्मान गर्ने उद्देश्यले उक्त अक्षयकोष स्थापना गरिएको हो ।

पोखरा ।

पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।

डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गर्ने गरी पुरस्कार स्थापना गरिएको हो ।

प्रत्येक वर्ष प्रदान गरिने पुरस्कारका लागि डेण्टलले ५ लाख रुपैयाँको अक्षयकोष पनि स्थापना गरेको छ ।

मंगलबार एक कार्यक्रमकाबीच फोनिज गण्डकीका उपाध्यक्ष धन बहादुर गुरुङ ‘सुमन’ र निट डेण्टल केयर प्रालिका प्रवन्ध निर्देशक वीरेन रानामगरबीच अक्षयकोष स्थापना गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

पत्रकारिताको क्षेत्रमा काम गरिरहेका पत्रकार सम्मान गर्ने उद्देश्यले उक्त अक्षयकोष स्थापना गरिएको हो । डेण्टलको वार्षिकोत्सवका अवसरमा नेपालभर जुनसुकै जिल्लामा रहेर पत्रकारिता क्षेत्रमा काम गरिरहेका एक जना पत्रकारलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिने छ ।

कार्यक्रममा डेण्टलका प्रवन्ध निर्देशक रानाले आफूले विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आइरहेको अवस्थामा पत्रकारिताको क्षेत्रमा पनि केही योगदान गर्नुपर्छ भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको बताए ।

पत्रकारिता क्षेत्र समाजको अभिन्न अंग भएको र यसले समाजमा भइरहेका हरेक सूचनालाई आम नागरिक समक्ष प्रवाह गर्ने भएकाले यो क्षेत्रमा योगदान गर्न पाउनु आफ्नो अहोभाग्य भएको रानाको भनाई छ ।

पहिलो वर्ष गण्डकी प्रदेशका विभिन्न जिल्लामा पत्रकारिता क्षेत्रमा काम गरिरहेका पत्रकारलाई प्राथमिकता दिए पनि आगामी वर्षबाट देशभरीका पत्रकारलाई सम्मान गर्ने उद्देश्य भएको उनले जानकारी दिए ।

प्रकाशित मिति २०८२ मंसिर १७ गते मंगलबार ०७:५२
हजुरको प्रतिक्रिया