२०८३ असोज २४ गते शनिबार

गण्डकी प्रदेशसहित ८ डिआइजीको सरुवा

गण्डकी प्रदेशसहित ८ डिआइजीको सरुवा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ६ गते सोमबार ०६:४७

पोखरा । गृह मन्त्रालयले गण्डकी प्रदेशसहित ८ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ । नेपाल सरकारको मन्त्रीस्तरको माघ ४ गतेको निर्णयअनुसार जनपद प्रहरी समूहका डिआइजीहरूको जिम्मेवारी हेरफेर गरिएको हो । सरुवासँगै...

पोखरामा दीपेन्द्र घर्ती क्षेत्री आउने

पोखरा ।
गृह मन्त्रालयले गण्डकी प्रदेशसहित ८ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ । नेपाल सरकारको मन्त्रीस्तरको माघ ४ गतेको निर्णयअनुसार जनपद प्रहरी समूहका डिआइजीहरूको जिम्मेवारी हेरफेर गरिएको हो । सरुवासँगै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा दीपेन्द्र घर्ती क्षेत्रीलाई पठाइएको छ भने त्यहाँ कार्यरत दिनेशकुमार आचार्यलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज ल्याइएको छ ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले सार्वजनिक गरेको विवरणअनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका डिआइजी अरुण पौडेलको नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्सालमा सरुवा भएको छ । उनको ठाउँमा प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत दीपक रेग्मीलाई पठाइएको छ । यस्तै, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा जयराज सापकोटालाई पठाइएको छ । उनी यसअघि प्रधान कार्यालयको कार्य निर्देशनालयमा कार्यरत थिए ।

कर्णालीमा कार्यरत माधवप्रसाद श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाजिम्पाटमा सरुवा गरिएको छ । सिआइबीमा कार्यरत भूपेन्द्रबहादुर खत्रीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ पठाइएको छ । लुम्बिनी प्रदेशमा रहेका डिआइजी राजेन्द्रप्रसाद भट्टलाई भने प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा ल्याइएको छ ।

डिआइजीहरूको सरुवा गर्दा रिक्त रहेका स्थान र आवश्यकतालाई ध्यान दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत दीपेन्द्र घर्ती क्षेत्रीलाई गण्डकीको कमान्ड सुम्पिँदा प्रधान कार्यालय र विभिन्न विभागहरूमा पनि नयाँ अधिकारीहरू पुगेका छन् । सरुवा भएका सबै अधिकारीलाई सम्बन्धित कार्यालयमा हाजिर हुन र सोको विवरण अभिलेखमा जनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

प्रहरी नायव उपरीक्षक दिलिप क्षेत्रीले प्रमाणित गरेको सरुवा पत्रमा उल्लेख भएअनुसार यो निर्णय तत्काल कार्यान्वयनमा जानेछ । मन्त्रालयले गृह प्रशासनलाई चुस्त बनाउन र शान्ति सुरक्षाको अवस्थालाई थप प्रभावकारी तुल्याउन नियमित प्रक्रियाअन्तर्गत नै यो सरुवा गरिएको बताएको छ । यसअघि साउन र भदौ महिनामा पनि प्रहरीका विभिन्न तहमा सरुवा र बढुवाका प्रक्रियाहरू अगाडि बढाइएका थिए । यो सरुवाले प्रदेश र केन्द्रका महत्त्वपूर्ण विभागहरूको कार्यसम्पादनमा थप ऊर्जा थप्ने विश्वास प्रहरी प्रशासनले लिएको छ ।

प्रकाशित मिति २०८२ माघ ६ गते सोमबार ०६:४७
हजुरको प्रतिक्रिया