२०८३ कात्तिक १० गते सोमबार

पाेखरामा ‘बर्न युनिट’ सञ्चालनमा आउँदै

पाेखरामा ‘बर्न युनिट’ सञ्चालनमा आउँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन २ गते शनिबार ०५:१६

पोखरा । पोखरा महानगरपालिकाको पहलमा पोखरास्थित आइएनएफ अस्पताल (हरियोखर्क अस्पताल) मा ‘बर्न युनिट’ अर्थात् जलन उपचार सेवा सुरु हुने भएको छ । लामो समयदेखि पोखरामा जलनको उपचारका लागि विशिष्टीकृत अस्पताल नहुँदा बिरामीहरूले भोग्नुपरेको...

फागुन ६ देखि हरियोखर्क अस्पतालबाट सेवा शुरू हुने

पोखरा ।
पोखरा महानगरपालिकाको पहलमा पोखरास्थित आइएनएफ अस्पताल (हरियोखर्क अस्पताल) मा ‘बर्न युनिट’ अर्थात् जलन उपचार सेवा सुरु हुने भएको छ ।

लामो समयदेखि पोखरामा जलनको उपचारका लागि विशिष्टीकृत अस्पताल नहुँदा बिरामीहरूले भोग्नुपरेको सास्तीलाई कम गर्न महानगरसँगै सहकार्य गरेर हरियोखर्क अस्पतालले आउँदो फागुन ६ गतेदेखि यो सेवा सुरु गर्न लागेकाे हो ।

पोखरा म्याराथनको उद्घाटन समारोहमा सहभागी हुँदै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जलन उपचार सेवा सुरु हुन लागेको जानकारी दिए । विगतमा भएका आगलागी र जलनका घटनाहरूमा तत्काल उपचार नपाउँदा बिरामीलाई काठमाडौं रिफर गर्नुपर्ने बाध्यता रहँदै आएको थियो । यही अभावलाई पूर्ति गर्न महानगरपालिकाले हरियोखर्क अस्पतालसँग सहकार्य अगाडि बढाएको हो ।

मेयर आचार्यले गत वर्ष फागुन २ गते पोखरा म्याराथन र ‘भिजिट एयर २०२५’ घोषणा कार्यक्रमका क्रममा भएको बेलुन विस्फोटको घटना स्मरण गर्दै त्यसैको जगमा जलन अस्पतालको अवधारणा अघि बढेको बताए । उनले भने, ‘गत वर्ष तत्कालीन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल घाइते भई बाँच्न सफल भएको दिनको स्मरण गर्दै आगामी फागुन ६ गतेदेखि पोखरास्थित आइएनएफ अस्पतालमा जलन युनिटको विशेष शुभारम्भ हुँदैछ ।’

यसअघि पनि कुष्ठरोग तथा छालासम्बन्धी विभिन्न विशिष्टीकृत उपचार सेवा प्रदान गर्दै आएको हरियोखर्क अस्पतालले अब पोखरा महानगरपालिकाको सहकार्यमा जलनका बिरामीका लागि विशेष उपचार सेवा थप व्यवस्थासहित सुरु गर्न लागेको हो । यसका लागि महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ५० लाख रुपैयाँ रातो किताबमै बजेट विनियोजन गरेको छ ।

मेयर आचार्यले ‘भिजिट एयर २०२५’ लाई बिर्सन नसकिने बताउँदै विभिन्न कारणले अवरुद्ध भएको उक्त कार्यक्रमको समय सन् २०२६ जुन १६ सम्म थपिएको जानकारी दिए । तर, त्यो दिन घटेको घटना फेरि कसैको जीवनमा नदोहोरियोस् भन्ने कामना उनले गरे । उक्त घटनाबाट सिर्जित अवसरका रूपमा पोखरा–२७ मा कोइकाको सहयोगमा सुविधासम्पन्न जलन अस्पताल निर्माण गर्ने योजना पनि अघि बढेको उनले बताए ।

फागुन ६ देखि सेवा विस्तार हुन लागेको आईएनएफ अस्पतालमा हाल ल्याब, सिटी स्क्यान, एक्सरे, भिडियो एक्सरे (युएसजी), रजिस्ट्रेसन, फार्मेसी, प्यालिएटिभ केयर र बहिरंग सेवा (ओपिडी) जस्ता विभागहरू सञ्चालनमा छन् । जलन उपचार युनिट थपिएपछि पश्चिम नेपालका जलनका बिरामीहरूलाई ठुलो राहत मिल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति २०८२ फागुन २ गते शनिबार ०५:१६
हजुरको प्रतिक्रिया