पोखरा ।
पोखरा महानगरपालिकाले पृथ्वीचोक क्षेत्र आसपास उपत्यका नगरविकास समितिको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका विभिन्न संरचनामा डोजर चलाएको छ । लामो समयदेखि प्रयोग गर्दे आएका संरचना हटाउने अभियान विहिबार देखि सुरु गरिएको हो ।
महानगरका अनुसार सार्वजनिक सूचना जारी गरी अतिक्रमित संरचना हटाउन आग्रह गरिएको थियो । उनिहरुले सामान हटाएपछि विहिबार विहान ११ बजेपछि सुरक्षा निकाय, जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थितिमा डोजर परिचालन गरिएको हो । उक्त क्षेत्रमा सहरा क्लब पोखरा, सामुदायिक प्रहरी सेवा केन्द्र, सामुदायिक प्रहरी , जिफन्ट गण्डकी, नेपाल ट्रेड युनियन कांग्रेस, हिमाली सांस्कृतिक परिवारलगायत विभिन्न संघ–संस्थाले विभिन्न समयदेखि भवन निर्माण गरी प्रयोग गर्दै आएका थिए ।
पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गामा लामो समयदेखि अतिक्रमण र भोगचलन भइरहेको विषयमा विवाद रहँदै आएको थियो । महानगरले कानुनी प्रक्रिया पूरा गरी संरचना खाली गर्न निर्देशन दिएपछि अभियान अघि बढाइएको हो ।
महानगरले सार्वजनिक सम्पत्तिको संरक्षण र योजनाबद्ध शहरी विकासका लागि अतिक्रमण हटाउने कार्यलाई निरन्तरता दिने जनाएको छ ।




