चितवन ।
सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका चितवन रत्ननगरका सिमान्तकृत महिलाहरु पछिल्लो समय आत्मनिर्भर बन्दै गएका छन् ।
‘सिक्स डिग्रीज नेटवर्क फर वुमेन नेपाल’ले सीमान्तकृत महिलालाई अवसर, सीप र बजारसँग जोडिदिएपछि उनीहरु आत्मनिर्भर बन्न थालेका हुन् । संस्थाले सीमान्तकृत महिलालाई आत्मनिर्भर बनाउन सीप विकास, उद्यमशीलता र बजार पहुँचमा केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको छ । महिलालाई साबुन, लिप बाम लगायतका घरेलु उत्पादन निर्माणसँगै ड्राइभिङ, नेचर गाइड र निर्माण सम्बन्धी क्षेत्रमा तालिम दिँदै आएको संस्थाकी प्रतिनिधि श्रीला सरकारले जानकारी दिइन् । उनका अनुसार तालिमपछि व्यवसाय शुरु गर्न आवश्यक प्राविधिक तथा आर्थिक सहयोग पनि संस्थाले उपलब्ध गराउने गरेको छ । महिलाहरुले उत्पादन गरेका साबुन र लिप बाम ‘हामी’ ब्राण्डअन्तर्गत बजारमा बिक्री वितरण भइरहेको छ । ‘हामी शक्ति’ ब्रान्डका साबुन नेपाली बजारका अतिरिक्त नेदरल्यान्डसम्म निर्यात हुने गरेको उनले जानकारी दिइन् । यसबाट विशेषगरी मुसहर, दलित तथा अन्य सीमान्तकृत समुदायका महिलाले प्रत्यक्ष रोजगारी र आम्दानीको अवसर पाएको उनले जानकारी गराइन् ।
उत्पादनको बजार विस्तारका लागि स्थानीय होटल व्यवसायी, निजी क्षेत्र तथा अन्य सरोकारवालासँग सहकार्य बढाइएको उनले जानकारी दिइन् । पर्यटन क्षेत्र र स्थानीय बजारमा ‘हामी’ ब्रान्डका उत्पादनको बिक्री भएमा महिलाको आयआर्जन थप वृद्धि हुने उनले बताइन् । संस्थाले आगामी दिनमा स्थानीय तह, निजी क्षेत्र र अन्य साझेदारसँग समन्वय गर्दै देशभर उत्पादनको बिक्री वितरण विस्तार गर्ने रणनीति अघि बढाएको पनि उनले जानकारी दिइन् ।
प्रकाशित मिति २०८३ असार १३ गते शनिबार ०३:१३




