पोखरा , ६ साउन
अन्नपूर्ण पदमार्गमा गएको आर्थिक वर्ष २०८२÷८३ मा लेक लागेर (अल्टिच्युड सिकनेस) २५ जना पर्यटकको मृत्यु भएको छ। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको हो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार मृत्यु हुनेमा १२ नेपाली, ९ भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिङ्गापुरका एक–एक जना रहेका छन्। ज्यान गुमाउनेमध्ये चार जना पथप्रदर्शक तथा भरिया छन्।
सबैभन्दा धेरै मृत्यु मुस्ताङमा भएको छ। त्यहाँ १५ जनाले ज्यान गुमाएका छन्। मनाङमा ८ जना तथा अन्नपूर्ण आधार शिविर (एबीसी) र मर्दी हिमाल आधार शिविर क्षेत्रमा एक–एक जनाको मृत्यु भएको आयोजनाले जनाएको छ।
आर्थिक वर्ष २०८१÷८२ मा लेक लागेर १९ जनाको मृत्यु भएको थियो। यस वर्ष उक्त संख्या बढेर २५ पुगेको हो।
आयोजना प्रमुख डा. कडरियाका अनुसार सडकमार्ग हुँदै एकैदिन मुक्तिनाथ पुग्ने नेपाली र भारतीय पर्यटकमा लेक लाग्ने समस्या बढी देखिएको छ। गाडी वा मोटरसाइकलमार्फत छोटो समयमै धेरै उचाइमा पुग्दा शरीरले हिमाली वातावरणसँग अनुकूलन गर्न नपाउने भएकाले जोखिम बढ्ने गरेको उनले बताए ।
पथप्रदर्शकहरूले उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा बिस्तारै उचाइ बढाउँदै बीच–बीचमा पर्याप्त विश्राम गर्नुपर्ने सुझाव दिएका छन्। विज्ञहरूका अनुसार लेक लाग्ने जोखिम कम गर्न पदयात्राका क्रममा एक दिनमा ५०० मिटरभन्दा बढी उचाइ नचढ्नु उपयुक्त मानिन्छ।
प्रकाशित मिति २०८३ साउन ६ गते बुधबार ०३:३१




