पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटनको राजधानीसँगै सूचना प्रविधि (आइटी) को पनि केन्द्रका रूपमा विकास गर्ने बताएका छन् ।
युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखरा र पोखरा रिसर्च सेन्टरले बुधबार पोखरामा आयोजना गरेको ‘गण्डकी प्रदेशमा डिजिटल उद्यमशीलता, रिमोट वर्क इकोसिस्टम तथा सूचना प्रविधि पूर्वाधार विकास’ विषयक अन्तरक्रियामा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
मुख्यमन्त्री पाण्डेले विगतमा बनेपामा बनाइएको आइटी पार्क भौतिक संरचनामा मात्र सीमित भएर असफल भएको उल्लेख गर्दै पोखरामा त्यस्तो गल्ती नदोहोर्याउने बताए । ‘बनेपाको आइटी पार्क फेल भयो, भवनहरू त बने तर तिनको सदुपयोग भएन,’ उनले भने, ‘त्यसैले हामी भवन मात्र बनाउने पक्षमा छैनौँ, पोखरालाई नै डिजिटल हबका रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने अवधारणामा काम गरौँ ।’ उनले पोखराका होटल, रेस्टुरेन्ट र सार्वजनिक स्थलहरूलाई डिजिटल प्रमाणीकरण गरी ‘डिजिटल नोम्याड’ हरूका लागि उपयुक्त गन्तव्य बनाउन सकिने धारणा राखे ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले आइटी क्षेत्रका लागि आवश्यक भौतिक पूर्वाधारमा जोड दिए । उनले सडक र हवाई कनेक्टिभिटीसँगै विद्युतको नियमित आपूर्ति र तीव्र गतिको इन्टरनेट पहिलो सर्त भएको बताए । कार्यक्रम अवधिमै पटक–पटक विद्युत् काटिएको सन्दर्भ जोड्दै उनले भने, ‘अहिले नै यहाँ तीन पटक बत्ती गइसक्यो, यस्तो अवस्थामा आइटी क्षेत्रको विकास मुस्किल हुन्छ, यसलाई नियमित र गुणस्तरीय बनाउन हामी लाग्नेछौँ ।’
मुख्यमन्त्री पाण्डेले निजी क्षेत्रलाई केवल समस्या मात्र नसुनाई स्पष्ट समाधानका योजना लिएर आउन आग्रह गरे । ‘हरेक कार्यक्रममा व्यापारी र उद्यमी साथीहरूले भएन मात्र भन्नुहुन्छ, तर सरकारले के गरिदिनुपर्ने हो भन्ने स्पष्ट खाका ल्याउनुहुन्न,’ उनले भने, ‘तपाईंहरूले यो काम गरिदेऊ भनेर ठोस प्रस्ताव ल्याउनुस्, नीतिगत र कानुनी रूपमा के सहयोग गर्नुपर्छ सरकार तयार छ ।’ उनले सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडेलमा आइटी क्षेत्रमा लगानी गर्न प्रदेश सरकार खुला रहेको जानकारी दिए ।
आफू आइटी विज्ञ नभए पनि यसको महत्व बुझेको बताउँदै उनले युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न सरकार लागिपरेको बताए । दुई वर्षअघिको तथ्यांक स्मरण गर्दै उनले आइटी क्षेत्रबाट मात्रै नेपालमा ६५ देखि ७० अर्ब रुपैयाँ भित्रिएको कुरा सुन्दा आफू उत्साहित भएको बताए । उनले प्रदेश सरकारले अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र सूचना प्रविधि सम्बन्धी नीति तथा कानुन निर्माणको प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए ।
दक्ष जनशक्तिको अभाव र पलायनका बारेमा चिन्ता व्यक्त गर्दै उनले भने, ‘मैले आफ्नो कार्यालयमा आइटी हेर्ने मान्छे खोजेको तीन महिना भइसक्यो तर पाइएको छैन, अधिकृत तहको ६० हजार रुपैयाँ तलबमा कोही आउन मान्दैनन् ।’ उनले युवाहरूलाई विदेश गएर सीप र पैसा कमाए पनि आफ्नो मातृभूमिलाई नबिर्सन आग्रह गरे । ‘विदेश जानुस्, प्रविधि सिक्नुस्, पैसा कमाउनुस् तर त्यसलाई नेपालमै लगानी गर्नुस्,’ उनले भने ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले आइटी क्षेत्रलाई व्यवस्थित गर्न र लगानी आकर्षित गर्न प्रदेश सरकारले आफ्ना अधिकार क्षेत्रभित्र रहेर अधिकतम लचकता अपनाउने बताए । उनले संघीय सरकारसँग समन्वय गरेर भए पनि पोखरालाई प्रविधिमैत्री सहर बनाउने अभियानलाई निष्कर्षमा पुर्याउने दाबी गरे । कार्यक्रममा पोखराका युवा उद्यमी र आइटी विज्ञहरूले गण्डकी प्रदेशमा डिजिटल पूर्वाधारको अवस्था र सुधारका उपायबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति २०८३ साउन २८ गते बिहीबार ०२:३५




