२०८३ असोज २३ गते शुक्रबार

हवाई यात्रीको क्षतिपूर्ति १ लाख डलर पुर्‍याउने प्रश्तावसहितको विधेयकमाथि राष्ट्रिय सभामा छलफल

हवाई यात्रीको क्षतिपूर्ति १ लाख डलर पुर्‍याउने प्रश्तावसहितको विधेयकमाथि राष्ट्रिय सभामा छलफल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन २८ गते बिहीबार ०४:३०

काठमाडौं । राष्ट्रिय सभाको बिहीबारको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त विधेयकमाथि विचार गरियोस् भनी गरेको...

काठमाडौं ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त विधेयकमाथि विचार गरियोस् भनी गरेको प्रश्ताव सभाले स्वीकृत गरेसँगै दफावार छलफलको प्रक्रिया अगाडि बढेको हो । विधेयकमाथि भएको छलफलमा भाग लिँदै सांसदहरूले हवाई सुरक्षा, यात्रीको हकहित र क्षतिपूर्तिको विषयमा आ–आफ्नो धारणा राखे । छलफलमा सहभागी सांसद सोनम गेल्जेन शेर्पाले दुर्घटनामा ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति २० हजार अमेरिकी डलरबाट वृद्धि गरी १ लाख डलर पुर्याउने प्रश्ताव सकारात्मक रहेको बताए । यद्यपि, उनले आकाशमा हुने ‘ट्राफिक जाम’ र विमान ‘होल्ड’ हुने समस्याले गर्दा यात्रीले भोग्नुपर्ने सास्तीप्रति सरकारको जवाफदेहिता पनि विधेयकमा स्पष्ट हुनुपर्नेमा जोड दिए ।

सांसद गीता देवकोटाले विधेयक केवल दुर्घटना पछिको क्षतिपूर्ति वितरणमा मात्र केन्द्रित भएको टिप्पणी गरिन् । उनले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को नियामक र सेवा प्रदायकको दोहोरो भूमिकाले ‘स्वार्थको द्वन्द्व’ सिर्जना गरेको उल्लेख गर्दै यसलाई नसुधारेसम्म हवाई सुरक्षामा सुधार नहुने तर्क समेत गरिन् । देवकोटाले खराब मौसमको बहानामा विमान कम्पनीहरू दायित्वबाट उम्किन सक्ने छिद्रहरू विधेयकमा रहेको र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अमेरिकी डलरको सट्टा ‘एसडीआर’ मापदण्ड अपनाउनुपर्ने सुझाव दिइन् ।

अर्का सांसद प्रेमप्रसाद दंगालले हवाई क्षेत्रको विस्तारसँगै सुरक्षा र सेवाको गुणस्तर मुख्य चुनौती बनेको बताए । उनले उडान ढिलाइ वा रद्ध हुँदा यात्रीले पाउने सुविधा र क्षतिपूर्तिको व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने माग गरे । साथै, इन्धनको मूल्य अनुसार स्वचालित भाडा प्रणाली लागू गर्न र दुर्गम क्षेत्रमा उडान गर्ने कम्पनीहरूलाई प्रोत्साहन र अनुदानको व्यवस्था गर्न उनले सरकारलाई आग्रह गरे ।

विधेयकलाई थप परिमार्जन गर्न र दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाउन सांसदहरूले सुझाव दिएका छन् । उक्त विधेयकले आन्तरिक वायुसेवालाई थप जिम्मेवार, सुरक्षित र भरपर्दो बनाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति २०८३ साउन २८ गते बिहीबार ०४:३०
हजुरको प्रतिक्रिया