बिरौटाबाट सुरु भएको ‘याला फोर्नो एण्ड शोरमा’लाई नेपालभर विस्तार गर्ने लक्ष्य
पोखरा ।
वैदेशिक रोजगारीका क्रममा १२ वर्ष संयुक्त अरब इमिरेट्स (यूएई)मा काम गर्दा हासिल गरेको अनुभवलाई स्वदेशमै व्यवसायमा रूपान्तरण गर्दै मोहन शाहले पोखरा–१७, बिरौटाबाट अरबिक स्वाद पस्किरहेका छन् । करिब १५ महिनादेखि सञ्चालनमा रहेको ‘याला फोर्नो एण्ड शोरमा रेस्टुरेन्ट एण्ड क्याफे’मा मानाकिस, हुमुस, कबाब, शोरमालगायतका विभिन्न अरबिक परिकार उपलब्ध छन् ।
यूएईमा लामो समय काम गर्दा त्यहाँको खाद्य संस्कृति, परिकार बनाउने शैली, ग्राहकको रुचि तथा रेस्टुरेन्ट व्यवस्थापनबारे नजिकबाट सिकेको अनुभवलाई शाहले स्वदेश फर्किएपछि आफ्नै व्यवसायमा प्रयोग गरेका हुन् । विदेशमा सिकेको सीप र अनुभवलाई नेपालमै उपयोग गर्ने उद्देश्यले रेस्टुरेन्ट सञ्चालनमा ल्याएको उनी बताउँछन् ।
काभ्रे जिल्लाको रोशी गाउँपालिकाका स्थायी बासिन्दा शाहले करिब ४० लाख रुपैयाँ लगानीमा व्यवसाय सुरु गरेका हुन् । पोखरामा अरूभन्दा फरक स्वाद र परिकार उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको रेस्टुरेन्टले पछिल्लो समय बिरौटामा आफ्नो पहिचान बनाउन थालेको उनको भनाइ छ ।
‘याला’को अर्थ छिटो र ‘फोर्नो’को अर्थ ओभन हुने भएकाले रेस्टुरेन्टको नामले नै यसको विशेषता झल्काउने शाह बताउँछन् । यहाँ छिटो तयार हुने अरबिक फास्टफुडका साथै ओभनमा पकाइने परिकारलाई प्राथमिकता दिइएको छ ।
अरबिक परिकार नेपाली ग्राहकका लागि नयाँ स्वाद भएकाले उनीहरूलाई सहज रूपमा त्यसतर्फ आकर्षित गर्न मूल्यलाई पनि विशेष ध्यान दिइएको शाहको भनाइ छ । पोखरामा विभिन्न आर्थिक तथा सामाजिक वर्गका मानिसको बसोबास रहेकाले आफ्नो बजेट अनुसार सबैले खान सक्ने गरी परिकारको मूल्य निर्धारण गरिएको उनले बताए ।
“खाना स्वादिलो मात्र भएर हुँदैन, ग्राहकले आफ्नो बजेटअनुसार खान सक्ने हुनुपर्छ,” शाह भन्छन् ।

विदेशमा लोकप्रिय अरबिक स्वादलाई पोखरामै उपलब्ध गराउने प्रयासले आफूलाई उत्साहित बनाएको उनले बताए । उनका अनुसार स्वादसँगै सुपथ मूल्य कायम गर्नुको उद्देश्य नेपाली ग्राहकलाई नयाँ परिकारसँग परिचित गराउनु पनि हो ।
पर्यटनको राजधानीका रूपमा परिचित पोखरालाई प्राकृतिक सुन्दरतासँगै खानाका विविध परिकारका लागि पनि आकर्षक गन्तव्य बनाउनुपर्ने शाहको धारणा छ । नेपाल आउने पर्यटकले घुमफिरसँगै स्थानीय र अन्तर्राष्ट्रिय स्वादको अनुभव लिन सक्ने वातावरण निर्माण गर्नुपर्ने उनको बुझाइ छ । यही सोचबाट पोखरामा अरबिक परिकारको व्यवसाय सुरु गरेको उनले बताए ।
रेस्टुरेन्टमा कार्यरत कर्मचारीका लागि पनि व्यवसाय सिकाइको अवसर बनेको शाहको भनाइ छ । यूएईमा लामो समय काम गर्दाको अनुभवलाई उनले कर्मचारी व्यवस्थापन तथा दैनिक कार्य सञ्चालनमा प्रयोग गर्दै आएका छन् । दक्ष जनशक्ति खोज्नु, कर्मचारी व्यवस्थापन गर्नु र व्यवसायको दैनिक सञ्चालनलाई व्यवस्थित राख्नु चुनौतीपूर्ण भए पनि निरन्तर मेहनत र लगनशीलताले सफलता हासिल गर्न सकिनेमा उनी विश्वस्त छन् ।
शाहका लागि रेस्टुरेन्ट आम्दानीको माध्यम मात्र होइन, विदेशमा सिकेको सीप र अनुभव नयाँ पुस्तासँग बाँड्ने अवसर पनि बनेको छ । काम गर्दै सिक्ने वातावरण निर्माण गर्न सके युवालाई स्वदेशमै रोजगारी र व्यवसायका अवसर सिर्जना गर्न सकिने उनको विश्वास छ ।
काभ्रेको रोशी गाउँपालिकाका शाह अहिले पोखरा–२९, लेखनाथमा बसोबास गर्ने योजनामा छन् । व्यवसायका क्रममा पोखरासँग जोडिएका उनी अब यही शहरलाई आफ्नो कर्मथलो र भविष्यसँग जोडिएको ठाउँका रूपमा लिन थालेका छन् ।
“पोखराले मलाई व्यवसाय गर्ने अवसर दिएको छ । अब यही शहरलाई आफ्नो बनाउँदै अगाडि बढ्ने चाहना छ,” उनले भने ।
वैदेशिक रोजगारीबाट फर्किएपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ व्यवसायमा प्रवेश गरेका शाह पछिल्लो १५ महिनाको अनुभवबाट थप उत्साहित छन् । बिरौटाबाट सुरु भएको व्यवसायलाई विस्तार गर्दै पोखराका अन्य क्षेत्रमा शाखा खोल्ने र त्यसपछि नेपालका विभिन्न शहरसम्म ‘याला फोर्नो एण्ड शोरमा’को सेवा पु¥याउने उनको योजना छ ।
व्यवसाय विस्तारका क्रममा लगानी, दक्ष जनशक्ति र व्यवस्थापन चुनौतीका रूपमा रहे पनि विदेशमा हासिल गरेको अनुभव, मेहनत र निरन्तरताका आधारमा आफ्नो लक्ष्य पूरा गर्न सकिने शाहको विश्वास छ ।
बिरौटाबाट अरबिक परिकारको स्वाद पस्कँदै अघि बढेको ‘याला फोर्नो एण्ड शोरमा’ले आगामी दिनमा पोखरासहित देशका विभिन्न शहरमा सेवा विस्तार गर्दै आफ्नो पहिचान फराकिलो बनाउने लक्ष्य राखेको छ ।
प्रकाशित मिति २०८३ साउन २९ गते शुक्रबार ०५:५०




