२०८३ असोज २३ गते शुक्रबार

ग्यासको कृत्रिम अभाव र शासकीय अराजकताप्रति सांसद पुनको आपत्ति

ग्यासको कृत्रिम अभाव र शासकीय अराजकताप्रति सांसद पुनको आपत्ति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १ गते सोमबार ०५:४८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले मुलुकमा देखिएको ग्यास अभाव, प्रधानमन्त्रीको विवादित अभिव्यक्ति र संसदीय समितिमा देखिएको अस्वभाविक व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन् । संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग...

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले मुलुकमा देखिएको ग्यास अभाव, प्रधानमन्त्रीको विवादित अभिव्यक्ति र संसदीय समितिमा देखिएको अस्वभाविक व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन् ।

संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पुनले सरकारले तथ्याङ्कमा आपूर्ति बढेको दाबी गरे पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाउनुले बजारमा कृत्रिम अभाव वा कालाबजारी भइरहेको संकेत गरेको बताए । सांसद पुनले संसदमा ग्यास अभावको विषयमा सत्ता पक्ष र प्रतिपक्ष दुवैले आवाज उठाएको उल्लेख गर्दै सरकारको दाबी र बजारको यथार्थबीच तालमेल नमिलेको बताए । आपूर्ति पर्याप्त छ भने उपभोक्ताले सुलभ ढङ्गले पाउनुपर्ने र कतै लुकाइएको भए सरकारले तत्काल कारबाही गरी नागरिकको अधिकार सुनिश्चित गर्नुपर्ने उनले बताए । प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको विवादित मन्तव्यबारे संसदमा स्पष्टीकरण दिनुपर्ने माग गर्दै विपक्षीले लामो समयदेखि आवाज उठाउँदै आएकोमा सभामुखबाट भएको रुलिङलाई पुनले स्वागत गरे । उनले प्रधानमन्त्री संसद्बाट पन्छिन खोजेको आरोप लगाउँदै अब अविलम्ब सदनमा आएर आफ्ना अभिव्यक्तिका बारेमा स्पष्ट पार्नुपर्ने बताए । यदि रुलिङ कार्यान्वयन नभए पुनः दबाबमूलक आन्दोलन सिर्जना हुने उनको चेतावनी छ ।

सार्वजनिक लेखा समितिमा प्रहरीको पोशाक खरिदमा भएको भनिएको भ्रष्टाचारका विषयमा भएको छलफलमा सांसद र प्रहरी महानिरीक्षक (आईजीपी) बीच भएको भनाभनलाई पुनले ‘शासकीय अराजकता’ को संज्ञा दिए । उनले सत्ता पक्षकै सांसदले अमर्यादित ढङ्गले प्रश्न राख्नु र जवाफमा प्रहरी प्रमुखले पनि मर्यादा नाघेर ‘धम्कीपूर्ण’ भाषा प्रयोग गर्नु दुवै गलत भएको टिप्पणी गरे ।

प्रकाशित मिति २०८३ भदौ १ गते सोमबार ०५:४८
हजुरको प्रतिक्रिया