२०८३ असोज २३ गते शुक्रबार

काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु

काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ ६ गते शनिबार ११:२८

काठमाडौं । काठमाडौंको सोसियस ग्यालरीमा ऊनबाट निर्मित सामग्री (फेल्ट) मा आधारित कला प्रदर्शनी ‘सुसम्झना’ शुरु भएको छ । फेल्ट एण्ड स्पेस कम्पनी र काठमाडौं विश्वविद्यालय (केयू) को ‘क्राफ्ट एन्ड डिजाइन’ विभागका विद्यार्थीको सहकार्यमा...

काठमाडौं ।

काठमाडौंको सोसियस ग्यालरीमा ऊनबाट निर्मित सामग्री (फेल्ट) मा आधारित कला प्रदर्शनी ‘सुसम्झना’ शुरु भएको छ ।

फेल्ट एण्ड स्पेस कम्पनी र काठमाडौं विश्वविद्यालय (केयू) को ‘क्राफ्ट एन्ड डिजाइन’ विभागका विद्यार्थीको सहकार्यमा सञ्चालित साढे दुई महिना लामो ‘फेल्ट फेलोसिप प्रोग्राम’को समापनसँगै यो प्रदर्शनी आयोजना गरिएको हो । सोसियस ग्यालरीका प्रतिनिधि सफल श्रेष्ठका अनुसार वर्तमान समयको उपभोक्तावादी संस्कृतिभन्दा भिन्न शैलीमा ‘रिजेनेरेटिभ’ अर्थात पुनरुत्थानशील अभ्यासलाई अगाडि बढाउने उद्देश्यले यो कार्यक्रमको परिकल्पना गरिएको थियो । फेल्ट कम्पनीसँगको सहकार्यपछि विद्यार्थीले सिकेका सीप र अनुभवलाई कलाका माध्यमबाट यस प्रदर्शनीमा प्रश्तुत गरिएको उनले बताए ।

प्रदर्शनीका बारेमा जानकारी दिँदै फेल्ट एण्ड स्पेसकी कृतिषा प्रजापतीले यो नेपालकै पहिलो ‘फेल्ट’मा मात्र आधारित कला प्रदर्शनी भएको दाबी गरे ।

प्रदर्शनीको अवलोकन गर्दै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यार्थीले अध्ययनकै क्रममा व्यावसायिक गुणस्तरका कला सामग्री निर्माण गर्नु सकारात्मक पक्ष भएको बताइन् । उनले महानगरपालिकाले सञ्चालन गरिरहेको ‘एक वडा, एक नमूना उद्यमशीलता’ कार्यक्रम अन्तर्गत वडा नम्बर ३ र ४ मा फेल्ट सम्बन्धी तालिम भइरहेको जानकारी दिँदै ती प्रशिक्षार्थीहरूलाई यस्ता कलाकारहरूसँग जोड्नुपर्ने आवश्यकता औँल्याइन् ।

प्रदर्शनीमा राखिएका कलाकृतिहरूले फेल्टको परम्परागत उपयोगलाई आधुनिक कलासँग जोड्दै सिर्जनशीलताको नयाँ आयाम प्रश्तुत गरेका छन् । यो प्रदर्शनी आगामी एक महिनासम्म सर्वसाधारणका लागि खुला रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति २०८३ भदौ ६ गते शनिबार ११:२८
हजुरको प्रतिक्रिया