२०८३ असोज २३ गते शुक्रबार

बाढीको विपत्तिपछि पब्लिक टेलिभिजनले गर्न लागेको कृषि तीज गीत प्रतियोगिता स्थगित

बाढीको विपत्तिपछि पब्लिक टेलिभिजनले गर्न लागेको कृषि तीज गीत प्रतियोगिता स्थगित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १५ गते सोमबार ०२:३८

पोखरा । पब्लिक फोरके टेलिभिजनले प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगिता–२०८३ स्थगित गरेको छ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति भई देश शोकमा परेको भन्दै टेलिभिजनले आयोजना गर्न लागेको दशौं संस्करणको...

पोखरा ।

पब्लिक फोरके टेलिभिजनले प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगिता–२०८३ स्थगित गरेको छ ।

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति भई देश शोकमा परेको भन्दै टेलिभिजनले आयोजना गर्न लागेको दशौं संस्करणको कृषि तीज गीत प्रतियोगिता–२०८३ स्थगित गरेको हो ।

भाद्र १० गते आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिका कारण मुलुक नै शोकमा रहेका बेला उत्सवका रूपमा कार्यक्रम सञ्चालन गर्नु उपयुक्त नहुने निष्कर्षसहित प्रतियोगिता स्थगित गरिएको कार्यक्रम संयोजक घनश्याम पाण्डेले बताए ।

‘विपत्तिको यस संवेदनशील समयमा तीज गीत प्रतियोगिता आयोजना गर्नु उपयुक्त नहुने भएकाले कार्यक्रम स्थगित गरेका हौं,’ पाण्डेले भने, ‘नयाँ परिस्थिति र समयअनुकूल हुने गरी कृषि गीतसम्बन्धी अर्को मिति तय गरेर जानकारी गराउनेछौं।’

बार्दली मिडिया प्रालिद्वारा सञ्चालित पब्लिक फोरके टेलिभिजन पोखराको आयोजनामा हरितालिका तीजको अवसर पारेर प्रतियोगिता गर्ने तयारी थियो ।

भाद्र २२ गते सोमबार पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा प्रदेशस्तरीय ग्रान्ड फिनाले गर्ने तय भएको थियो । गण्डकी प्रदेशका ११ जिल्लाबाट छनोट भएका उत्कृष्ट समूहलाई अन्तिम प्रतिस्पर्धामा सहभागी गराउने तयारी थियो ।

जिल्ला–जिल्लामा कृषि विकास कार्यालयको समन्वयमा समूह छनोट गरी पोखरा ल्याउने योजना थियो । प्रतियोगिता गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा सञ्चालन गर्ने तयारी गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ लोकदोहोरी कलाकार प्रजापति पराजुली, खुमन अधिकारी र शान्ता रानी परियारको प्रस्तुति रहने तय भएको थियो । साथै रैथाने बालीको प्रदर्शनी तथा विभिन्न कृषि सामग्रीका स्टल राख्ने तयारीसमेत गरिएको थियो ।

पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले कृषि, उद्यम र पर्यटन क्षेत्रमा नेपाली महिलाले पु¥याएको योगदानलाई सम्मान गर्दै मौलिक तीज गीतमार्फत कृषि ज्ञान, प्रविधि र सन्देश आमजनतामाझ पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको भए पनि बाढीको विपत्तिपछि कार्यक्रम स्थगित गरिएको बताए ।

उनले यस अभियानमा साथ दिने सम्पूर्ण प्रति आभार ब्यक्त गर्दे आगामी दिनमा गर्ने कार्यक्रममा पनि यस्तै साथ र सहयोगको अपेक्षो गरेको बताए ।

प्रकाशित मिति २०८३ भदौ १५ गते सोमबार ०२:३८
हजुरको प्रतिक्रिया