पोखरा ।
रसुवागढीलगायत विभिन्न जिल्लामा भदौ १० गते आएको प्राकृतिक विपद्बाट प्रभावितको उद्धार तथा राहतका लागि गण्डकी रेन्बो ट्राउट फार्म र त्यसमा कार्यरत कर्मचारीले ५ लाख १६ हजार ५ रुपैयाँ सहयोग गरेका छन् ।
फार्मका सञ्चालक अमृत गुरुङ र लक्षिन गुरुङले ५ लाख ५ सय ५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।
त्यस्तै, फार्ममा कार्यरत कर्मचारीले समेत १५ हजार ५ सय रुपैयाँ संकलन गरी सोही कोषमा सहयोग गरेका छन् ।
फार्म र कर्मचारीको संयुक्त पहलबाट प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि कुल ५ लाख १६ हजार ५ रुपैयाँ सहयोग गरिएको हो।फार्मले रसुवागढीलगायत विभिन्न जिल्लामा आएको प्राकृतिक विपद्मा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
विपद्बाट प्रभावित परिवार तथा घाइतेप्रति सहानुभूति व्यक्त गर्दै उद्धार तथा राहतका लागि आफ्नो तर्फबाट सहयोग गरिएको जनाएको छ ।
‘प्राकृतिक विपद्मा परी ज्यान गुमाउने नेपाली दाजुभाइ, दिदीबहिनी तथा विदेशी पर्यटकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं,’ फार्मले जारी गरेको सन्देशमा उल्लेख छ ।
विपद्का कारण प्रभावित भएका नागरिकको उद्धार र राहतका लागि सरकारले सञ्चालन गरिरहेको प्रयासमा साथ दिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरिएको फार्मका सञ्चालकले बताएका छन् ।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि निजी क्षेत्र तथा सर्वसाधारणबाट विभिन्न माध्यमबाट सहयोग जुटिरहेका बेला गण्डकी रेन्बो ट्राउट फार्म र त्यसमा कार्यरत कर्मचारीले पनि सामूहिक रूपमा राहत सहयोग उपलब्ध गराएका हुन् ।
प्रकाशित मिति २०८३ भदौ १६ गते मंगलबार ०१:०७




