पोखरा ।
गण्डकी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार गरिएको छ ।
नवगठित समीकरण र राजनीतिक परिवर्तनसँगै नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेक छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्री देवकोटालाई पदको शपथ गराएका हुन् । नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ ।
केन्द्रमा फेरिएको राजनीतिक समीकरणका कारण नेकपा एमालेतर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि उक्त मन्त्रालय रिक्त रहँदै आएको थियो ।
एमाले मन्त्रीहरूको बहिर्गमनसँगै रिक्त रहेका मन्त्रालयहरूमध्ये मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिँदै सरकारमा भित्र्याएका हुन् ।
यसअघि पनि मन्त्री भइसकेका देवकोटाको पुनरागमनसँगै गण्डकी प्रदेश सरकारले रिक्त रहेका अन्य मन्त्रालयहरूलाई पनि चाँडै पूर्णता दिने तयारी अघि बढाएको मुख्यमन्त्री पाण्डेले बताए ।
ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटालाई दिएर भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय नन्दप्रसाद न्यौपानेलाई दिइएको छ ।
प्रकाशित मिति २०८३ भदौ १७ गते बुधबार १२:३४




