पोखरा ।
रसुवामा भदौ १० गते आएको बाढी तथा पृथ्वी राजमार्गअन्तर्गत विभिन्न स्थानमा गएको पहिरोका कारण यातायात प्रभावित भएपछि पर्यटकीय राजधानी पोखराको पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको छ ।
पर्यटकको चहलपहल रहने पोखराको लेकसाइड क्षेत्र यतिबेला सुनसानजस्तै बनेको छ ।
विशेषगरी फेवाताल किनारस्थित लेकसाइड, तालबाराही मन्दिरलगायतका प्रमुख पर्यटकीय क्षेत्रमा आन्तरिक तथा विदेशी पर्यटकको उपस्थिति निकै न्यून देखिएको छ ।
पर्यटन व्यवसायीका अनुसार विपद् र सडक अवरोधको समाचारपछि केही विदेशी पर्यटकले पोखरा आउने योजना तथा होटल बुकिङसमेत रद्द गरेका छन् ।
सेप्टेम्बर महिनासँगै पर्यटकको मुख्य सिजन सुरु हुने अपेक्षामा रहेका पोखराका पर्यटन व्यवसायी उत्साहित थिए ।
होटल तथा पर्यटन व्यवसायमा बुकिङ पनि उत्साहजनक रहेको उनीहरूलृे बताए । तर, रसुवा बाढीपछि उत्पन्न विपद्को अवस्था र प्रमुख सडकमार्गमा भएको अवरोधले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पारेको व्यवसायीहरूको भनाइ छ ।
हालैको विपद्ले नेपालका विभिन्न पर्यटकीय गन्तव्य र यातायात पूर्वाधारमा असर पारेको छ । पर्यटन क्षेत्रमा पनि ठूलो आर्थिक प्रभाव पर्न सक्ने अनुमान सार्वजनिक भइरहेका छन् ।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा आउने प्रमुख राजमार्गको भरपर्दो विकल्प आवश्यक रहेको बताए ।
काठमाडौं तथा देशका अन्य भागबाट अधिकांश पर्यटक पृथ्वी राजमार्ग हुँदै पोखरा आउने भएकाले एउटा पहिरो वा सडक अवरोधका कारण पर्यटकीय सहर नै सुनसान बन्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
‘पोखरा आउने वैकल्पिक राजमार्ग निर्माणमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ,’ उनले भने, ‘एउटा सडकमा पहिरो जाँदा पोखराको पर्यटन नै प्रभावित हुने अवस्था राम्रो होइन ।’
पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएकाले सडक सञ्जाललाई सुरक्षित, व्यवस्थित र बहुविकल्पीय बनाउन आवश्यक रहेको पर्यटन व्यवसायीहरूको जोड छ ।
प्राकृतिक विपद् र सडक अवरोधका कारण पर्यटकको आवागमन प्रभावित हुने अवस्थालाई ध्यानमा राख्दै दीर्घकालीन रूपमा वैकल्पिक सडक निर्माण गर्न पोखरेलीले सरकारसँग माग गर्नुपर्ने पोखरेलले बताए ।
प्रकाशित मिति २०८३ भदौ १८ गते बिहीबार ०३:३६




