२०८३ असोज २३ गते शुक्रबार

भोटेकोसीमा आएको बाढीमा परेर सम्पर्कविहीन पोखराका अधिकारीको कुशको शव बनाएर अन्तिम संस्कार

भोटेकोसीमा आएको बाढीमा परेर सम्पर्कविहीन पोखराका अधिकारीको कुशको शव बनाएर अन्तिम संस्कार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २० गते शनिबार १२:५०

पोखरा । रसुवाको भोटेकोसी नदी आएको बाढीमा परेर पोखराका गोविन्दबहादुर अधिकारी सम्पर्कविहीन छन् । भदौ १० गतेको बाढीमा परेर सम्पर्कविहीन भएका रसुवाको टिमुरे भन्सार कार्यालयका सवारीचालक अधिकारीलाई परिवारजनले खोजी गर्दा घटनास्थलको...

पोखरा ।

रसुवाको भोटेकोसी नदी आएको बाढीमा परेर पोखराका गोविन्दबहादुर अधिकारी सम्पर्कविहीन छन् ।

भदौ १० गतेको बाढीमा परेर सम्पर्कविहीन भएका रसुवाको टिमुरे भन्सार कार्यालयका सवारीचालक अधिकारीलाई परिवारजनले खोजी गर्दा घटनास्थलको अवस्था देखेपछि शुक्रबार रामघाटस्थित सेती नदीमा कुशको शव बनाएर दाहसंस्कार गरेका छन् ।

रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत पोखरा–१४ समावेशी टोलका ४७ वर्षीय गोविन्दबहादुर अधिकारी यसपटक तीजमा घर आउने योजनामा थिए ।

भदौ ९ गते साँझ भिडियो कलमार्फत परिवारसंग कुराकानी गरेका उनी भोलिपल्ट भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परेपछि उनको तीजमा घर योजना अधुरै रह्यो । बाढी आएको दिन भदौ १० गतेदेखि अधिकारी सम्पर्कविहीन छन् ।

टिमुरे भन्सार कार्यालयमा सवारीचालकका रूपमा कार्यरत अधिकारी करिब ६ महिनाअघि पोखरा विमानस्थल भन्सार कार्यालयबाट टिमुरे सरुवा भएका थिए । बाढी आएको दिन बिहानसम्म परिवारसँग सम्पर्कमा रहेका उनी त्यसपछि बेपत्ता भए ।

परिवारले उनको खोजीमा विभिन्न अस्पताल तथा शव राखिएका स्थानसम्म पुगेर खोजी गरेका थिए ।

धादिङमा भेटिएको शवको तस्बिर अधिकारीसँग मिल्दोजुल्दो देखिएपछि परिवार त्यहाँसमेत पुगेको थियो । तर हातमा रहेको ट्याटुका आधारमा उक्त शव अधिकारीको नभएको पुष्टि भयो ।

त्यसपछि बिहीबार टिमुरे पुगेर घटनास्थलको अवस्था हेरेपछि परिवारले उनको जीवितै फर्किने आश मारेको हो ।

लामो समयसम्म कुनै खबर नआएपछि परिवारले शुक्रबार पोखराको रामघाटस्थित सेती नदीमा हिन्दु संस्कारअनुसार कुशको शव बनाएर अन्त्येष्टि गर्दै काजकिरिया सुरु गरेको छ ।

मुरली बजाउन रुचाउने अधिकारीको सम्झनामा परिवारले कुशको शवसँगै एउटा मुरली पनि राखेको छ ।

भदौ १० को बाढीपछि पोखराका १२ जना अझै सम्पर्कविहीन रहेको कास्की प्रशासनले जनाएको छ । तीन जना भने पछि परिवारको सम्पर्कमा आएका छन् ।

 

प्रकाशित मिति २०८३ भदौ २० गते शनिबार १२:५०
हजुरको प्रतिक्रिया