२०८३ असोज २३ गते शुक्रबार

बाढीपहिरोपछिको आपूर्ति व्यवस्थापनमा सरकारको पूर्वतयारी कमजोर, अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न माग

बाढीपहिरोपछिको आपूर्ति व्यवस्थापनमा सरकारको पूर्वतयारी कमजोर, अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २० गते शनिबार १२:५६

पोखरा । रसुवा बाढीपछि बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक र कृत्रिम मूल्यवृद्धि भइरहेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य...

पोखरा ।

रसुवा बाढीपछि बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक र कृत्रिम मूल्यवृद्धि भइरहेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य श्रृङ्खलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक कार्यक्रममा बोल्दै उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले सरकारको फितलो पूर्वतयारीका कारण उपभोक्ता मारमा परेको बताएका हुन् ।

अधिकारकर्मी तिमिल्सिनाले बजारमा भइरहेको अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले पर्याप्त चासो नदेखाएको आरोप लगाए । विशेषगरी खाना पकाउने ग्यासको ढुवानीमा देखिएको समस्या समाधान गर्न राज्यले सबै विकल्पहरू खुला गर्नुपर्ने उनको भनाइ छ ।

उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग रहेका ठूला सवारी साधनको प्रयोग गरेर भएपनि ग्यास ढुवानीलाई सहज बनाउनुपर्ने सुझाव दिए ।

आपूर्ति श्रृङ्खला र गुणस्तरको विषयमा जोड दिँदै उनले यो विपत्तिको समयमा नुनदेखि सुनसम्मका सबै वस्तु तथा सेवाका विक्रेताहरूलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह समेत गरे ।

सडक अवरोधका कारण बजारमा सामानको अभाव हुने भन्दै फैलाइएका हल्लाको भ्रममा नपर्न पनि उहाँले नागरिकहरूलाई आग्रह गरे ।

सरकारले मुख्य राजमार्गका अवरोध हटाउने र वैकल्पिक मार्गहरू सञ्चालन गर्ने कार्य गरिरहेकाले दाल, चामल, तरकारी र फलफूल जस्ता अत्यावश्यक वस्तुको अभाव नहुने उनले स्पष्ट पारे ।

उनले भने, ‘बजारमा मूल्य नियन्त्रणसँगै वस्तुको गुणस्तर र आपूर्ति सहज बनाउनु उत्तिकै आवश्यक छ । उपभोक्ताहरू एउटा ग्यास सिलिण्डरका लागि भौँतारिनुपर्ने र लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न राज्यले विशेष सक्रियता देखाउनुपर्छ ।’

यसैगरी, उपभोक्ताहरूलाई आवश्यकताभन्दा बढी वस्तु सञ्चय (होर्डिङ) नगर्न समेत उनले अपिल गरे ।

सक्षम वर्गले सामान सञ्चय गर्दा दैनिक ज्यालादारी गर्ने र न्युन आय भएका वर्गलाई मार पर्ने र यसले कृत्रिम अभावलाई थप सहयोग पुग्ने हुँदा उपभोक्ता आफैँ पनि सचेत र जागरुक बन्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति २०८३ भदौ २० गते शनिबार १२:५६
हजुरको प्रतिक्रिया