भाद्र २६ ,पोखरा ।
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशको आयोजनामा पोखरामा सेभर एयरलाइन्स टिकट बुकिङसम्बन्धी तीनदिने आधारभूत तालिम सुरु भएको छ।
पोखरामा सञ्चालनमा रहेका विभिन्न ट्राभल कम्पनीमा आबद्ध सदस्य तथा कर्मचारीलाई लक्षित गरी आयोजना गरिएको तालिम शुक्रबारदेखि सुरु भएको हो। तालिमको उद्घाटन नाटा गण्डकी प्रदेशका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा भएको थियो।
कार्यक्रममा नाटा गण्डकी प्रदेशकी अध्यक्ष संगीता पौडेलले पर्यटन व्यवसायमा प्रविधिको प्रयोग बढ्दै गएकाले ट्राभल व्यवसायी तथा कर्मचारीलाई आधुनिक टिकट बुकिङ प्रणालीसम्बन्धी ज्ञान आवश्यक रहेको बताइन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी सेप्टेम्बर २३ देखि फ्लाई दुबईले दुबई उडान सुरु गर्ने तयारी गरेको छ। दुबई हुँदै विश्वका १३० भन्दा बढी मुलुकसँग पोखराको हवाई सम्पर्क विस्तार हुने भएकाले त्यसलाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन गर्न तालिम आयोजना गरिएको तालिम संयोजक तथा नाटा गण्डकी प्रदेशका कार्यसमिति सदस्य विकास निरौलाले बताए।
उनका अनुसार आधारभूत तहको तालिम भएकाले तीन दिनसम्म दैनिक तीन घण्टा कक्षा सञ्चालन हुनेछ। तालिममा सहभागीलाई सेभर प्रणालीमार्फत हवाई टिकट बुकिङ, उडानसम्बन्धी विवरण हेर्ने तथा टिकट व्यवस्थापनलगायतका विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइने बताइएको छ ।
प्रकाशित मिति २०८३ भदौ २६ गते शुक्रबार ०४:५३




