२०८३ असोज २३ गते शुक्रबार

पोखराका हलहरूमा हाउसफुल माओत्सेकाे ‘पेन्सन पट्टा’

पोखराका हलहरूमा हाउसफुल माओत्सेकाे ‘पेन्सन पट्टा’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २८ गते आइतबार ०१:४०

पोखरा । माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो दिनमै पोखरामा उत्साहजनक व्यापार गरेको छ । शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको यो चलचित्रले पोखरामा प्रमुख सिनेमा हलमा दर्शकको उल्लेखनीय साथ पाउँदै...

पोखरा ।
माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो दिनमै पोखरामा उत्साहजनक व्यापार गरेको छ । शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको यो चलचित्रले पोखरामा प्रमुख सिनेमा हलमा दर्शकको उल्लेखनीय साथ पाउँदै सुखद सुरुवात गरेको हो ।

क्युएफएक्स सिनेमाज र मिडटाउन सिनेमाजबाट मात्रै चलचित्रले पहिलो दिन ७ लाख ४८ हजार रुपैयाँको ग्रस कलेक्सन गरेको छ । यी दुई हलमा कुल १ हजार ९ सय ३० दर्शकले चलचित्र हेरे । पहिलो दिनको उत्साहले दोस्रो दिन शनिबार पोखरामा अझ गति लियो । पोखरा ट्रेडमलस्थित क्युएफएक्स सिनेमाजमा शनिबार ५ शो र मिडटाउन सिनेमाजमा पनि ५ शो राखिएको थियो । दुवै हलका पाँचै शो हाउसफुल रहे ।

पोखरासँगै बुटवल, दमौली, लमजुङ, चितवन र काठमाडौंको ललितपुरमा पनि चलचित्रले उत्साहजनक सुरुवात गरेको छ ।

‘पेन्सन पट्टा’ले प्रदर्शनको सुरुवातमै दर्शकको साथ पाउनु सुखद संकेत भएको हल सञ्चालक तथा चलचित्रकर्मीहरूको भनाइ छ । नेपाली समाज, परिवार र जीवनका भावनात्मक पक्षलाई प्रस्तुत गरेको चलचित्रप्रति दर्शकको माउथ पब्लिसिटी पनि सकारात्मक देखिएको छ ।

निर्देशक माओत्से गुरुङसहित कलाकार विश्वास गुरुङ, माया गुरुङ र डिबी गुरुङ पोखराका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । चलचित्र हेरेपछि कतिपय दर्शकले फिल्ममा आफ्नै परिवार वा समाजमा घटेका घटनाको झल्को पाएको प्रतिक्रिया दिएका छन् ।

कास्कीको पर्यटकीय गाउँ ताङतिङका दृश्यले पनि दर्शकको ध्यान खिचेको छ । चलचित्रको कथावस्तु, छायांकन र कलाकारको अभिनयलाई दर्शकले रुचाएको पाइएको छ ।

दयाहाङ राई, गौमाया गुरुङ, पशुपति राई, विल्सन विक्रम राई, बुद्धी तामाङ, सुरज तमु, माया गुरुङ, विश्वास गुरुङ, सोल गुरुङ, डिबी गुरुङ, सुनिल थापा र मनिता गुरुङलगायतका कलाकारको अभिनयले चलचित्रलाई थप बलियो बनाएको छ ।

विशेषगरी ताङतिङको प्राकृतिक सौन्दर्य र स्थानीय परिवेशले चलचित्रको कथालाई जीवन्त बनाएको दर्शकको प्रतिक्रिया छ ।

सुरुआति उत्साहले ‘पेन्सन पट्टा’को देशभरको व्यापारमा थप आशा जगाएको छ ।

प्रकाशित मिति २०८३ भदौ २८ गते आइतबार ०१:४०
हजुरको प्रतिक्रिया