पोखरा ।
राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व थप प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन् ।
बिहीबार आयोगको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले भ्रष्टाचारजन्य कसुरको पहिचान, अनुसन्धान र अभियोजनलाई वैज्ञानिक, विश्वसनीय, प्रविधिमैत्री तथा नतिजामुखी बनाउनुपर्नेमा जोड दिए ।
सार्वजनिक निकाय तथा पदाधिकारीमा जवाफदेहिता, नैतिकता र सदाचार प्रवद्र्धन गर्न आयोगले महत्वपूर्ण योगदान पु¥याएको उनको भनाई छ । उनले आयोगले आफ्नो कार्यगत स्वायत्तता कायम राख्दै निष्पक्षता र निर्भीकताका साथ काम गर्नुपर्ने बताए ।
आयोगको प्रतिवेदनमा उल्लेख भएका भ्रष्टाचार नियन्त्रणसम्बन्धी प्रयास, उपलब्धि र सुझावहरू मुलुकमा सुशासन कायम गर्ने महत्वपूर्ण आधार बन्ने उनको भनाई छ ।
उनले भने, ‘आयोगले संवैधानिक र कानुनी दायित्व थप प्रभावकारी र कार्यगत स्वायत्तता कायम राखी निष्पक्षता र निर्भीकताका साथ अघि बढ्नुपर्ने ठान्दछु । आयोगले आगामी दिनहरूमा सक्षम, निष्पक्षता प्रभावकारी ढंगबाट काम कारबाही गर्न सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु । माननीय प्रमुख आयुक्तले प्रतिवेदनमा उल्लेख गर्नुभएको भ्रष्टाचार नियन्त्रणसम्बन्धी प्रयास, उपलब्धि र सुझावहरू मुलुकमा सुशासन कायम गर्ने महत्वपूर्ण आधार हुनेछ भन्ने लागेको छ । प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसदमा पेस हुनेछ । साथै प्रतिवेदनमा उठाइएका विषयहरू सङ्घीय संसदमा गम्भीरतापूर्वक छलफल भई नेपाल सरकारले प्रभावकारी रूपमा सम्बोधन गर्नेछ भन्नेमा म विश्वस्त छु ।’
राष्ट्रपति पौडेलले आयोगको प्रतिवेदनलाई संघीय संसद र नेपाल सरकारले प्रभावकारी रूपमा सम्बोधन गर्नेमा आफू विश्वस्त रहेको बताए ।
बिहीबार राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिसमक्ष आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
प्रकाशित मिति २०८३ असोज १ गते बिहीबार ०२:५१




