पोखरा ।
नेपाली काँग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सकको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
उनले प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावमा कर्णालीका बिरामीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल तथा राजधानी काठमाडौं रिफर गर्नुपर्ने अवस्था रहेको बताए ।
उनले कर्णाली प्रादेशिक अस्पतालमा क्याथल्यावको मेसिन जडान भएको दुई वर्ष भइसक्दा पनि कार्डियोलोजिस्ट चिकित्सक उपलब्ध नभएको बताए । यस्तै, अस्पतालमा न्यूरोलोजिस्ट चिकित्सकसमेत अभावज रहेको उनको भनाइ छ ।
उनले कर्णालीको भौगोलिक विकटता, गरिबी र सडक दुर्घटनाका कारण गम्भीर अवस्थाका बिरामीलाई हिमाली क्षेत्रबाट समेत हेलिकप्टरमार्फत अस्पताल ल्याउने गरिएको उल्लेख गर्दै खड्काले न्यूरोसम्बन्धी उपचार नहुँदा समस्या हुने गरेको बताए ।
उनले भने, ‘हामी सबैलाई थाहा छ कर्णाली सबैभन्दा दुर्गम प्रदेश हो । विकासको हिसाबले पनि पछाडि परेको छ । र कर्णाली प्रादेशिक अस्पतालमा अहिले विशेषज्ञ चिकित्सकहरुको अभाव छ । क्याथल्याबको मेसिन जडान भएको दुई वर्ष भइसकेको छ । कार्डियोलोजिस्ट डाक्टर त्यहाँ हुनुहुन्न । न्युरोलोजिष्ट डाक्टरसाब पनि त्यहाँ हुनुहुन्न । कर्णाली प्रदेश विकट प्रदेश हो । गरिबी छ, अशिक्षा छ । भूगोल एकदमै नमिलेको छ । गाडी र सवारी साधनहरु पनि बाटोको कारणले गर्दाखेरी धेरै दुर्घटना हुने गरेको छ । विभिन्न हिमाली क्षेत्रबाट समेत हेली रेस्क्यू गरेर बिरामीहरुलाई त्यहाँ ल्याइन्छ । तर त्यहाँ टाउकोको उपचार नहुने समस्याको कारणले गर्दाखेरी अधिकांश विरामीहरु न्यूरो विशेषज्ञले हेर्नुपर्ने विरामीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा र काठमाडौं रिफर गर्नुपर्ने अवस्था रहेको छ । त्यसैले प्रादेशिक अस्पतालमा तत्काल न्यूरोलोजिष्ट डाक्टरको तत्काल उपलब्धता हुनुपर्यो ।’
उनले कर्णाली प्रादेशिक अस्पतालमा तत्काल न्यूरोलोजिस्ट चिकित्सक उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।
प्रकाशित मिति २०८३ असोज १ गते बिहीबार ०३:१८




