२०८३ असोज २३ गते शुक्रबार

हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य छ, अन्तर्राष्ट्रिय समुदायसँग ‘क्लाइमेट जस्टिस’ माग्नुपर्छः वातावरण विज्ञ शर्मा

हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य छ, अन्तर्राष्ट्रिय समुदायसँग ‘क्लाइमेट जस्टिस’ माग्नुपर्छः वातावरण विज्ञ शर्मा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज २ गते शुक्रबार ०३:०६

पोखरा । वातावरण विज्ञ प्रा. डा. छत्रमणि शर्माले नेपालले हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगन्य हुँदा पनि जलवायु परिवर्तनको बढी असर भोगिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग ‘क्लाइमेट जस्टिस’ माग गर्नुपर्ने बताएका छन्...

पोखरा ।

वातावरण विज्ञ प्रा. डा. छत्रमणि शर्माले नेपालले हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगन्य हुँदा पनि जलवायु परिवर्तनको बढी असर भोगिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग ‘क्लाइमेट जस्टिस’ माग गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठकमा त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभागका प्रमुख समेत रहुनभएका शर्माले यस्तो बताएका हुन् ।

उनले जलवायु परिवर्तनसम्बन्धी तथ्यांकले हिमाली क्षेत्रमा यसले गम्भीर असर परिरहेको तथ्य स्थापित गरिसकेको बताए । उनले १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी समेत जलवायु परिवर्तनको असरको कारण भएको कुरामा दुईमत नरहेको बताए ।

उनले जलवायु परिवर्तनको असर प्रतक्ष्य रुपमा देखिन थालेको भन्दै यसलाई भविष्यमा निम्तिनसक्ने खतराको रुपमा मात्र हेर्न नहुने पनि बताए ।

शर्माले जलवायु परिवर्तन प्राकृतिक प्रक्रिया भएपनि पछिल्लो समय यसको गति तीव्र भएकाले त्यससँग अनुकूलन गर्न कठिनाइ भइरहेको बताए । हजारौँ वर्षमा हुने परिवर्तन ५० वर्षमै हुँदा विश्वजगत यससँग एडप्ट हुन नसकेको उनको भनाइ छ ।

उनले औद्योगिकीकरणपछि मानवीय गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन बढेकाले जलवायु परिवर्तनको प्रभाव तिब्र बनेको बताए । उनले विश्वका सबै देशले समान मात्रामा हरितगृह ग्यास उत्सर्जन नगरिरहेको भएपनि त्यसको असर समान रुपमा भोगिरहेको बताए ।

उनले भने, ‘जलवायु परिवर्तनको असर भविष्यमा पर्छ भनेर हामी सचेत मात्र हुने अवस्था छ । जलवायु परिवर्तनको कारण विपत्तिहरु देखिन थालिसकेका छन् । आईपिसीसीले नै काम गर्न थालेको १९८८ देखि हो । डेटा संकलन गरेर क्लाइमेट चेन्ज भइरहेको छ यसले विभिन्न प्राकृतिक वितण्डा मच्चाइरहेको छ भन्ने कुरा त स्थापित भइसकेको कुरा हो नि । २१औँ शताब्दी सकिँदा यस्तो हुन्छ भन्ने कुरा त छँदैछ । तर यो कुरा आजको रियालिटी नै भइसक्यो । जलवायु परिवर्तनको असर भिजिवल भइसक्यो । हिमालयमा हामीले नै देखिसक्यौँ कतिपय कुराहरु १० भदौको रसुवाको भोटेकोश बाढी पनि त्यसमा जोड्न सकिन्छ । क्लाइमेट चेन्ज नेचुरल फेनोमेनन हो, यस्ता ग्लेसियर त हजारौँ वर्ष पहिले पनि पग्लिसकेका थिए भन्नेहुन्छ । त्यो हामी सबैले मान्छौँ । तर अहिलेको वास्तविक कुरा के हो भने हजारौँ वर्षमा हुने परिवर्तन ५० वर्ष वा सय वर्षमा भयो भने हामी एडप्ट हुन सक्दैनौँ । अहिलेको समस्या त्यो हो । त्यसकारण यो क्लाइमेट चेन्जको इम्प्याक्ट हाम्रो कारणले भएको हो । विश्वभर औद्योगिकरण पछि जुन मानवीय क्रियाकलाप भएका छन् । त्यसले हामीले ग्रिन हाउस ग्यसहरु निकालिराखेका छौँ त्यही कारण जलवायु परिर्तनको असर धेरै पर्न थालेको हो भन्ने कुरा क्लियर छ । अर्को कुरा के छ भने हामी सबैले समान रुपमा त ग्रीन हाउस ग्यास उत्पादन गरेका छैनौँ । अब ग्रीन हाउस ग्यास उत्पादन गर्ने देश र यसको असर खेप्नुपर्ने देशहरु इक्वैल्ली डिस्टिब्युटेड छैनन् । मैले बढी ग्रीन हाउस ग्यसा उत्पादन गरेको छु भने मैले नै बढी समस्या भोग्नुपर्ने छैन । मैले एकदम कम उत्पादन गरेको छु, म एकदमै सेफ छु भनेर भन्न पाउने अवस्था पनि छैन । त्यसकारण हरित गृह ग्यासको कम उत्पादन गरिरहेका तर यसको असर भोगिरहेका देशहरुलाई क्लाइमेट जस्टिस दिनुपर्छ । कुन रुपमा दिने भन्ने मेकानिज्म कुरा होला तर हामीले यो दाबी गर्नुपर्छ ।’

उनले नेपालको हिमालय क्षेत्रमा बढ्दो तापक्रम कारण हिमालहरु जोखिममा परेको बताए ।

प्रकाशित मिति २०८३ असोज २ गते शुक्रबार ०३:०६
हजुरको प्रतिक्रिया