२०८३ असोज २३ गते शुक्रबार

भोटेकोशी–त्रिशूली बाढीः वागमती प्रदेशको पयर्टन क्षेत्रमा मात्रै ५२ अर्ब बढीको आर्थिक क्षति

भोटेकोशी–त्रिशूली बाढीः वागमती प्रदेशको पयर्टन क्षेत्रमा मात्रै ५२ अर्ब बढीको आर्थिक क्षति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज ११ गते आइतबार ०४:३०

पोखरा । भदौ १० गतेको रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीबाट वागमती प्रदेशको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । आईतबार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौंमा आयोजित...

पोखरा ।

भदौ १० गतेको रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीबाट वागमती प्रदेशको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

आईतबार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै बोर्डका सदस्य शहदेव धमलाले यस्तो जानकारी दिएका हुन् ।

उनकाअनुसार बाढीका कारण प्रदेशमा १ सय ४२ भन्दा बढी पर्यटकस्तरीय तथा साना–मझौला होटल र ६५ भन्दा बढी रेस्टुरेण्टमा क्षति पुगेको छ । उनले बाढमिा परी पर्यटन क्षेत्रले ठूलो मानवीय क्षति समेत बेहोर्नुपरेको बताए ।

बाढीमा परी गाइड, पोर्टर तथा सहयोगी भुमिकामा कार्यरत १ सय ८८ जनाभन्दा बढीको मृत्यु भएको उनले जानकारी दिए । होटलमा कार्यरत २ सय १४ जनाको मृत्यु भएको विवरणसमेत प्राप्त भएको उनले बताए ।

मानवीय क्षतिको कुनै मूल्यसँग तुलना गर्न नसकिने उल्लेख गर्दै उनले पीडित परिवारको पुनःस्थापना र पर्यटन व्यवसायको पुनरुत्थानका लागि विशेष कार्ययोजना ल्याउन आवश्यक रहेको बताए ।

उनले विपद्पछिको पुनःस्थापनाका लागि स्थानीय, प्रदेश र संघीय सरकारले उपलब्ध स्रोत तथा साधनको अधिकतम उपयोग गर्दै एकीकृत रूपमा काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपाल पर्यटन बोर्ड विगत केही समय यता रिभाइटेलाइजेसनको कुरादेखि त्यसको आम्दानी र खर्चको विषलाई पनि डिजिटलाइज गर्ने र ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्नका लागि अगाडि बढिरहेको छ । हामी अहिले विपद्को एउटा घडीमा छौँ । बागमती प्रदेशले नै यसपालीको विपद्मा झन्डै १ सय ४२ भन्दा बढी पर्यटकस्तरीय या साना मझौला होटलहरु गुमाउन पुग्यो । झन्डै ६५ भन्दा बढी रेस्टुरेण्टहरु गुमाउन पुग्यो । त्यही क्षेत्रमा पथप्रदर्शक तथा सहयोगी भुमिकामा काम गर्नुहुने १ सय ८८ भन्दा बढी हाम्रा होनहार दाजुभाई दिदीबहिनीहरु गुमाउन पुग्यो । होटलमै काम गर्ने झन्डै २ सय १४ जनाको आँकडा हामीले प्राप्त गरेका छौँ । पक्कै पनि त्यो मानवीय क्षति कुनै मूल्यसँग तुलना हुँदैन । तर पनि उहाँहरुको परिवारको पुनःस्थापनाको लागि एउटा विशेष कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता छ । मलाई लाग्छ माननीय मन्त्रीज्यूले यस विषयमा एकदमै ध्यानाकर्षण गर्नुहुनेछ र नेपाल पर्यटन बोर्डले सहकार्य गर्ने क्रममा अहिले पछिल्लो क्रममा हामी यो क्विक रेस्पोन्स टिम भनेर एउटा गठन गरेर कसरी विपद् न्युनिकरण तथा प्रतिकार्य गर्न सकिन्छ भनेर काम गरिरहेको अवस्था पनि छ । मलाई के लाग्छ भने झन्डै वागमती प्रदेशले पर्यटकीय क्षेत्रमा मात्र झन्डै ५२ अर्बभन्दा बढीको हाम्रो एस्टिमेटेड अजम्सनमा नोक्सानी ब्यहोरेको अवस्था छ । त्यसलाई परिपूरण गर्नका लागि आगामी दिनमा वागमती प्रदेशले विशेष कार्यक्रम गर्नेछ र नेपाल पर्यटन बोर्ड अब स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले आफ्नो भएका स्रोत र सुविधाहरुलाई म्याक्सिमम प्रयोग गरेर एकीकृत ढंगबाट पुनःस्थापना र पुनरुत्थानका कामहरु गर्नुपर्छ ।’

उनले विपद् जोखिम न्युनिकरण तथा प्रतिकार्यका लागि नेपाल पर्यटन बोर्डले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेर काम अघि बढाएको पनि जानकारी दिए ।

उनले नेपाल पर्यटन बोर्डले आफ्नो कार्यसम्पादनलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने र ग्रामीण पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि बढाइरहेको समेत जानकारी दिए ।

प्रकाशित मिति २०८३ असोज ११ गते आइतबार ०४:३०
हजुरको प्रतिक्रिया