पोखरा । अविरल वर्षासँगै आएको पहिरोका कारण बागलुङका छुट्टाछुट्टै स्थानमा १० जनाको मृत्यु भएको छ। पहिरोमा परी एक जना बेपत्ता भएका छन्।
जिल्लाको तमानखोला, निसीखोला र ताराखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा असोज १० र ११ गते परेको अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा सो जनधनको क्षति भएको हो।
प्राप्त विवरणअनुसार तमानखोला गाउँपालिका–४ सन्तरमा पहिरोले घर पुरिँदा ६५ वर्षीया उदिसरा विक र ५० वर्षीय हस्तवीर विकको मृत्यु भएको छ। सोही घटनामा ५२ वर्षीया पुनसरा विक बेपत्ता भएकी छन्। यस्तै, तमानखोला गाउँपालिका–३ धनारकुकका ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको पनि पहिरोमा परी मृत्यु भएको छ।
यसैगरी, निसीखोला गाउँपालिका–६ सेलवाङका ५० वर्षीय सूर्यबहादुर घर्तीको पहिरोमा परी मृत्यु भएको छ। निसीखोला गाउँपालिका–३ कन्केखरियामा भने पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, १३ वर्षीय मनोज विक, ८ वर्षीय मुकेश विक र ३ वर्षीय निशान विक रहेका छन्।
त्यस्तै, ताराखोला गाउँपालिका–५ धरर्मरका ५९ वर्षीय मनबहादुर रोक्काको पनि पहिरोमा परी मृत्यु भएको छ।
अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा घर तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। अहिले स्थानीय प्रशासन र विभिन्न निकायहरूको समन्वयमा प्रभावित क्षेत्रमा उद्धार तथा बेपत्ताको खोजी कार्य जारी रहेको छ। घटनाबारे थप विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति २०८३ असोज १२ गते सोमबार ०३:३०




