२०८३ असोज २३ गते शुक्रबार

कन्दरा ब्यान्डमार्फत ४८ लाख रुपैयाँ सहयोग

कन्दरा ब्यान्डमार्फत ४८ लाख रुपैयाँ सहयोग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज १४ गते बुधबार १२:००

पोखरा । कन्दरा ब्यान्डले उत्तर अमेरिका टुरका क्रममा सामाजिक सहयोगका लागि ४८ लाख ३ हजार ५१० रुपैयाँ संकलन गरेको छ । क्यानडा र अमेरिकामा आयोजित ‘रिदम अफ चेन्ज’ टुरबाट संकलित रकममध्ये ६ हजार अमेरिकी डलर छन्त्याल परिवारले आफ्नै...

पोखरा ।

कन्दरा ब्यान्डले उत्तर अमेरिका टुरका क्रममा सामाजिक सहयोगका लागि ४८ लाख ३ हजार ५१० रुपैयाँ संकलन गरेको छ ।

क्यानडा र अमेरिकामा आयोजित ‘रिदम अफ चेन्ज’ टुरबाट संकलित रकममध्ये ६ हजार अमेरिकी डलर छन्त्याल परिवारले आफ्नै पहलमा राहत वितरण गरेको छ भने बाँकी रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको ब्यान्डले जनाएको छ ।

गायक विवेक श्रेष्ठका अनुसार अमेरिकाको एटलान्टा, मेरिल्याण्ड र नर्थ क्यारोलाइनामा आयोजित कार्यक्रमबाट तीन चरणमा रकम संकलन गरिएको हो ।

एटलान्टामा मात्रै करिब २१ लाख रुपैयाँ संकलन भएको थियो। त्यस्तै, मेरिल्याण्डमा ६ हजार र नर्थ क्यारोलाइनामा ११ हजार ६७० अमेरिकी डलर संकलन भएको उनले जानकारी दिए ।

दैवी प्रकोपका कारण शोकमा रहेको अवस्थामा समेत एटलान्टाको कार्यक्रमलाई सामाजिक सेवासँग जोडेर निरन्तरता दिइएको श्रेष्ठले बताए ।

संगीतलाई मनोरञ्जनमा मात्र सीमित नराखी संकटका बेला समुदायलाई जोड्ने माध्यम बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

क्यानडा र अमेरिकाका विभिन्न सहरमा नौवटा कार्यक्रम गरेको कन्दराको टुर डेनभरमा पुगेर सम्पन्न भएको थियो ।

३५ वर्षे सांगीतिक यात्रामा रहेको ब्यान्डले ‘रिदम अफ चेन्ज’मार्फत आफू, सोच र संगीतमा परिवर्तनको सन्देशसमेत दिएको संगीतकार सुनील थापाले बताए ।

थापाका अनुसार टुरको उद्देश्य संगीतलाई सामाजिक जिम्मेवारीसँग जोड्नुका साथै समयअनुसार संगीतमा परिवर्तन ल्याउने सन्देश दिनु पनि थियो ।

टुरका क्रममा नेपाली डायस्पोराका दर्शकले कन्दराका गीतमार्फत आफ्नो गाउँ, बाल्यकाल र मातृभूमिको सम्झना गरेको श्रेष्ठले बताए । नयाँ पुस्ताका बालबालिकाले समेत अभिभावकसँगै नेपाली गीत र भाषा सुन्ने अवसर पाएको उनको भनाइ छ ।

पोखरामा जन्मिएर हुर्किएको कन्दराका लागि पोखराबाट सुरु भएको पहिलो अन्तर्राष्ट्रिय उडानसँग जोडिएर पोखरा आउनु पनि विशेष संयोग बनेको श्रेष्ठले बताए ।

कन्दरा फ्लाई दुबईको पहिलो उडानबाट यहि भाद्र ७मा पोखरा अन्तराष्ट्रिय विनास्थलमा ओर्लिएको थियो ।

प्रकाशित मिति २०८३ असोज १४ गते बुधबार १२:००
हजुरको प्रतिक्रिया