२०८३ असोज २३ गते शुक्रबार

हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज १७ गते शनिबार ०२:४२

काठमाडौँ । मकवानपुरगढी गाउँपालिकामा बेमौसमी हावाहुरीले गोलभेँडा खेतीमा ठूलो क्षति पु¥याएपछि किसानहरू मर्कामा परेका छन् । ऋणधन गरेर बनाएका टनेल उडाएपछि र उत्पादन दिने बेलाका बोटहरू सोत्तर भएपछि उनीहरूलाई लगानी कसरी उठाउने...

काठमाडौँ ।

मकवानपुरगढी गाउँपालिकामा बेमौसमी हावाहुरीले गोलभेँडा खेतीमा ठूलो क्षति पु¥याएपछि किसानहरू मर्कामा परेका छन् ।

ऋणधन गरेर बनाएका टनेल उडाएपछि र उत्पादन दिने बेलाका बोटहरू सोत्तर भएपछि उनीहरूलाई लगानी कसरी उठाउने भन्ने चिन्ताले सताएको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नं ८, बुढीचौरका शम्सेर ल्वागुनले तरकारी मण्डीका साहुसँग ५० हजार रुपैयाँ ऋण लिएर टनेलमा गोलभेँडा खेती गरेका थिए ।

आफ्नो पुख्र्यौली आरन पेसालाई विस्तारै छाड्दै कृषिमा लाग्नुभएका उहाँले गत वर्ष ४ वटा टनेलबाट डेढ लाख रुपैयाँ आम्दानी लिएका थिए । तर, गत असोज १० गते वर्षासँगै आएको हावाहुरीले उनका ३ वटा टनेल पूर्ण रूपमा नष्ट गरिदिएको छ भने एउटामा आंशिक क्षति पुगेको छ ।

राम्रो उत्पादन दिने बेलामै गोलभेँडाका झाङ ढलेपछि अहिले उनलाई मण्डीको ऋण कसरी तिर्ने भन्ने चिन्ताले पिरोलेको छ ।  यो बेमौसमी हावाहुरीबाट उनी मात्रै पीडित छैनन्, सिङ्गो गाउँ नै प्रभावित बनेको छ ।

अच्युत घलानको करिव ३ सय मिटरभन्दा लामो टनेल र सुजन पुडासैनीले भाडाको करिव २५ रोपनी जग्गामा गरेको गोलभेँडा खेतीमा अधिकांशमा क्षति पुगेको छ ।

स्थानीय कर्मराज विश्वकर्माका अनुसार विशेषगरी वडा नम्बर ८ को बर्गिटार र दम्पकी क्षेत्रका अधिकांश टनेलमा क्षति पुगेको छ । हावाले टनेलसँगै बोट नै लडाएपछि किसानहरू आफ्नो ज्यालासम्म उठाउन नसक्ने स्थितिमा पुगेका छन् ।

त्यसमाथि टनेल मर्मत र रोग लाग्न नदिन थप औषधि उपचार गर्नुपर्दा उनीहरूलाई दोहोरो आर्थिक भार थपिएको छ ।

वडा कार्यालयले संकलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार हालसम्म ३५ घरधुरीको ७ हजार मिटर टनेलमा रहेको गोलभेँडा खेतीमा क्षति पुगेको छ ।

राम्रो उत्पादन हुने सिजनमा दैनिक ४ सयदेखि ६ सय क्रेट गोलभेँडा निर्यात गर्दै आएको बुढीचौरमा यस वर्ष ७० टनभन्दा बढी उत्पादन घट्ने अनुमान गरिएको छ ।

वडा कार्यालयमा क्षतिको विवरण लिएर आउने पीडित किसानहरूको संख्या बढ्दै गएकाले नोक्सानीको यो आँकडा अझै बढ्न सक्ने देखिएको छ ।

प्रकाशित मिति २०८३ असोज १७ गते शनिबार ०२:४२
हजुरको प्रतिक्रिया