२०८३ असोज २३ गते शुक्रबार

भुइँ तहमा काम गर्ने कार्यकर्ताको मूल्यांकन नभएसम्म काँंग्रेसमा रूपान्तरण हुन सक्दैनः डिला संग्रौला पन्त

भुइँ तहमा काम गर्ने कार्यकर्ताको मूल्यांकन नभएसम्म काँंग्रेसमा रूपान्तरण हुन सक्दैनः डिला संग्रौला पन्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज २१ गते बुधबार ०२:४६

युवाहरू ठूलो संख्यामा विदेश पलायन भइरहेको उल्लेख गर्दै उनले शिक्षा र रोजगारीबीचको सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिइन् । उनले विद्यार्थी र युवालाई काँग्रेसको राजनीतिमा जोड्दै नेतृत्व तहमा पु¥याउने विषय आफ्नो पहिलो एजेन्डा रहेको बताइन् ।

काठमाडौँ ।

नेपाली काँग्रेसकी नेतृ डिला संग्रौला पन्तले कांग्रेसको रुपान्तरणको लागि संगठनमा लामो समयदेखि काम गरेका कार्यकर्ताको मूल्यांकन हुनुपर्ने बताएकी छिन् ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भुइँ तहमा काम गर्ने कार्यकर्ताको योगदानको मूल्यांकन नभएसम्म पार्टी रूपान्तरण सम्भव नहुने बताएकी हुन् ।

उनले भुँई तहको कार्यकर्ताको योगदानको मूल्यांकन, शिक्षा सुधार, युवा नेतृत्वको विकास, संगठन सुदृढीकरण, पार्टी रूपान्तरण, सुशासन र महिला सशक्तीकरणलाई प्रमुख एजेण्डा बनाएर महामन्त्री पदमा उम्मेद्वारी दिएको बताइन् ।

युवाहरू ठूलो संख्यामा विदेश पलायन भइरहेको उल्लेख गर्दै उनले शिक्षा र रोजगारीबीचको सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिइन् । उनले विद्यार्थी र युवालाई काँग्रेसको राजनीतिमा जोड्दै नेतृत्व तहमा पु¥याउने विषय आफ्नो पहिलो एजेन्डा रहेको बताइन् ।

युवाले खोजेको सुशासन, भ्रष्टाचारमा शुन्य सहनशीलता, चुस्त सेवा प्रवाह र रोजगारीको अवसर दिलाउनुपर्ने उनको भनाई छ । पछिल्लो राजनीतिक परिवर्तनसँगै काँग्रेसले पनि आफूलाई समयअनुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।

उनले भने, ‘आजको शिक्षा नीति बेरोजगार शिक्षा नीति छ । युवाहरू ब्रेन ड्रेन भएर बाहिरिएका छन् । नेपालमा उनको सीप र लगानी गर्ने आधार छैन । त्यसैले मेरो उम्मेदवारी, आजको शिक्षा नीतिको संगसंगै विद्यार्थी, युवालाई काँग्रेसको राजनीतिमा कसरी जोड्ने, युवा मैत्री बनाउने र नेतृत्वमा ल्याउने पहिलो एजेन्डा हो । दोस्रो, नेपाली काँग्रेस भित्र, सङ्गठनभित्र, सानो तहदेखि अहिलेसम्म मेरो कार्यलाई हेर्ने हो भने सङ्गठनको विभिन्न निकायमा, वडा, क्षेत्र, जिल्ला, केन्द्र हुँदै राजनीति गरेको पनि आज ४० वर्ष बितेछ । सङ्गठनमा सशक्तीकरण हुनुपर्छ, सङ्गठनमा उर्जा हुनुपर्छ, सङ्गठनका काम गर्ने साथीहरूको मूल्याङ्कन हुनुपर्छ भन्ने मेरो सशक्त एजेण्डा हो । त्यसैले जबसम्म भुइँ तहमा काम गर्ने कार्यकर्ताको मूल्याङ्कन हुन्न, तबसम्म काँग्रेसमा रूपान्तरण हुन सक्दैन । त्यसैले रूपान्तरण मेरो प्रमुख एजेन्डा हो । जेन–जीको विद्रोह पछाडि नेपालको राजनीति परिवर्तन भयो । नेपालको राजनीतिले बेग्लै मोड लियो । हामीले सोच्यौं काँग्रेस यथास्थितिमा जान सक्दैन, त्यसैले काँग्रेसभित्र रूपान्तरण हुनुपर्छ भनेर गगन थापा नेतृत्वमा विशेष महाधिवेशन गरेर परिवर्तनको पक्षमा हामी उभियौँ । त्यो परिवर्तनले १५ औं महाधिवेशनमा आकार लिँदैछ । काँग्रेस सबैलाई समेट्ने मियो बन्दैछ । त्यसैले मेरो, तेस्रो एजेन्डा भनेको रूपान्तरण हो, परिवर्तन हो, परिवर्तन त्यसबेला सम्भव छ, जब सङ्गठनको रथ हाक्ने नेतृत्व सबल र सक्षम आउँछ । सबैले खोजिरहेका छन्, सुशासन हुनुपर्छ, भ्रष्टाचारमा शुन्य सहनशीलता । त्यो मुद्दालाई मुखरित गर्दै मैले जहिले पनि भन्ने गरेको छु, ४० सालको परिवर्तन पछाडि जति पनि उच्च तहमा पुग्ने चाहे नेतृत्वकर्मी हुन्, चाहे कर्मचारी हुन्, तिनको सम्पत्ति छानबिन हुनुपर्छ । आन्तरिक लोकतन्त्रभित्र पार्टीभित्र पनि आन्तरिक सुशासन हुनुपर्छ ।’

उनले अनुभवी, मध्यम पुस्ता र युवा पुस्तालाई जोडेर काँग्रेसलाई अघि बढाउनुपर्ने बताइन् ।

काँग्रेसप्रति असन्तुष्ट मतदातालाई पुनः पार्टीसँग जोड्ने नीति आवश्यक रहेको बताउँदै उनले जनताको घरदैलोमा पुगेर संगठन विस्तार गर्नुपर्नेमा जोड दिइन् ।

महिलातर्फ महामन्त्री पदका लागि आफूलाई समर्थन गर्न उनले काँग्रेसका पालिका, क्षेत्र तथा प्रदेश तहका सभापति, महाधिवेशन प्रतिनिधि तथा देश–विदेशमा रहेका काँग्रेस कार्यकर्तालाई आग्रह गरिन् ।

 

प्रकाशित मिति २०८३ असोज २१ गते बुधबार ०२:४६
हजुरको प्रतिक्रिया