२०८३ कात्तिक १० गते सोमबार

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागूः धनुषामा गण र बाहिनीबाट थप सुरक्षाकर्मी परिचालन

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागूः धनुषामा गण र बाहिनीबाट थप सुरक्षाकर्मी परिचालन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक १ गते शनिबार १२:२७

दशैँको महासप्तमीका अवसरमा जनकपुरधामस्थित महावीर युवा कमिटीद्वारा आयोजित राजदेवी माताको मन्दिर परिसरबाट सुरक्षा अवस्थाबारे जानकारी गराउँदै प्रजिअ लुइँटेलले जिल्लाको समग्र सुरक्षा व्यवस्था प्रभावकारी रूपमा मिलाइएको स्पष्ट पारे ।

काठमाडौँ ।

धनुषा जिल्ला प्रशासनले विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गरी जिल्लाभर एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।

चाडपर्वका समयमा सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ बनाउन जिल्लास्थित सुरक्षा निकायका अतिरिक्त गण र बाहिनीबाट समेत थप सुरक्षाकर्मी झिकाएर परिचालन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले चाडपर्वलाई भयरहित, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको जानकारी दिए ।

दशैँको महासप्तमीका अवसरमा जनकपुरधामस्थित महावीर युवा कमिटीद्वारा आयोजित राजदेवी माताको मन्दिर परिसरबाट सुरक्षा अवस्थाबारे जानकारी गराउँदै प्रजिअ लुइँटेलले जिल्लाको समग्र सुरक्षा व्यवस्था प्रभावकारी रूपमा मिलाइएको स्पष्ट पारे ।

उनकाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त सहभागितामा एकीकृत सुरक्षा योजना लागू गरिएको हो ।

चाडपर्वमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, कालोबजारी तथा अन्य अवाञ्छित गतिविधि रोक्न सदरमुकाम जनकपुरधामका संवेदनशील क्षेत्र तथा ग्रामीण भेगहरूमा समेत नियमित पट्रोलिङ र आकस्मिक जाँच तिब्र पारिएको छ ।

भीडभाड हुने मुख्य धार्मिक स्थलहरू र बजार क्षेत्रमा सादा पोशाकका सुरक्षाकर्मी (इन्टेलिजेन्स) परिचालन गरी विशेष निगरानी बढाइएको प्रशासनले जनाएको छ ।

उनले भने, ‘ आज हामी दशैँको सप्तमीमा छौँ । यस अवसरमा जनकपुरस्थित महावीर युवा कमिटी र राजदेवी माताको मन्दिर परिसरबाट बोल्दै गर्दा, यसपटक धनुषा जिल्लामा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको जानकारी गराउन चाहन्छु । एकीकृत जिल्ला सुरक्षा योजनाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गर्नुका साथै सादा पोसाकमा सुरक्षाकर्मी खटाइएको छ । जिल्लाभर गस्ती तथा निगरानी बढाइएको छ । शान्ति सुरक्षाविरुद्ध गतिविधि गर्नेलाई नियन्त्रणमा लिई कानूनी कारबाहीसमेत अघि बढाइएको छ । अतः सम्पूर्ण जिल्लावासीलाई सामाजिक सद्भाव, एकता र आपसी भाइचाराका साथ चाडपर्व शान्तिपूर्ण रूपमा मनाउन हार्दिक अनुरोध गर्दछु ।’

शान्ति सुरक्षामा खलल पु¥याउने वा कानूनविपरित गतिविधिमा संलग्न जोकोहीलाई तत्काल नियन्त्रणमा लिएर कानूनी दायरामा ल्याइने चेतावनी दिँदै प्रजिअ लुइँटेलले सुरक्षा टोली सोहीअनुसार परिचालित भइसकेको बताए ।

साथै, प्रमुख जिल्ला अधिकारीले सम्पूर्ण धनुषावासीलाई शुभकामना व्यक्त गर्दै आपसी सद्भाव, भ्रातृत्व र एकता कायम राखेर हर्षोल्लासपूर्वक चाडपर्व मनाउन अपिल समेत गरेका छन् ।

प्रकाशित मिति २०८३ कात्तिक १ गते शनिबार १२:२७
हजुरको प्रतिक्रिया