२०८३ कात्तिक ९ गते आइतबार

कोलकातामा दुर्गा पूजाका क्रममा भागदौडः १९ जनाको मृत्यु, आयोजकसहित १० जना नियन्त्रणमा

कोलकातामा दुर्गा पूजाका क्रममा भागदौडः १९ जनाको मृत्यु, आयोजकसहित १० जना नियन्त्रणमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक ३ गते सोमबार ०६:३३

भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा आयोजित दुर्गा पूजा महोत्सवका क्रममा भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । शनिवार भएको उक्त दुःखद् घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको...

भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा आयोजित दुर्गा पूजा महोत्सवका क्रममा भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।

शनिवार भएको उक्त दुःखद् घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ भने तीमध्ये एक जनाको अवस्था अत्यन्त गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् । वार्षिक रूपमा मनाइने दुर्गा पूजाको अवसरमा हजारौँ श्रद्धालुहरूको उपस्थिति रहेको धार्मिक समारोहमा अचानक भागदौड मच्चिएको थियो । ज्यान गुमाउनेहरूमा अधिकांश महिला तथा बालबालिका रहेको पश्चिम बङ्गालका मुख्यमन्त्रीले आईतवार औपचारिक पुष्टि गर्नुभएको छ ।

प्रत्यक्षदर्शी तथा स्थानीय प्रशासनका अनुसार भारी वर्षाका बीच पूजा मण्डपमा जम्मा भएको अत्यधिक भीड अनियन्त्रित हुन पुग्दा यो अप्रिय घटना घटेको हो । मुख्यमन्त्रीले घटनाको कारणबारे जानकारी दिँदै प्राकृतिक वर्षाका साथै आयोजकहरूको तर्फबाट व्यवस्थापनमा केही गम्भीर कमजोरीहरू भएको स्वीकार गर्नुभएको छ । भीड व्यवस्थापन तथा पूर्वतयारी पर्याप्त नहुँदा मानवीय क्षति बढी हुन पुगेको प्रारम्भिक आँकलन गरिएको छ । यसैबीच, घटनापछि कोलकाता प्रहरीले अनुसन्धान प्रक्रियालाई तिब्र बनाएको छ । सुरक्षामा गम्भीर लापरबाही गरेको आशङ्कामा पूजा आयोजक समिति र त्यहाँ खटिएका निजी सुरक्षा गार्डसहित करिब १० जनालाई नियन्त्रणमा लिएर सोधपुछ शुरु गरिएको छ ।

प्रहरी र प्रशासनले सम्पूर्ण घटनाको प्राविधिक तथा व्यवस्थापकीय पक्षबाट अनुसन्धान अघि बढाएको छ । मुख्यमन्त्रीले छानबिनका क्रममा जो–कोही दोषी ठहरिए पनि कडा कानुनी कारबाहीको दायरामा ल्याइने स्पष्ट पार्नुभएको छ । अस्पतालमा भर्ना गरिएका घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको सम्पूर्ण प्रबन्ध मिलाइएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति २०८३ कात्तिक ३ गते सोमबार ०६:३३
हजुरको प्रतिक्रिया