स्याङ्जा । स्याङ्जामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा भएका १८ सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीका अनुसार साउन, भदौ र असोजमा १० मोटरसाइकल, पाँच जीप/भ्यान, दुई बस र एक ट्रेलर ट्रक दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा पाँच पुरुष र एक महिलाको मृत्यु भएको छ । गम्भीर घाइते हुनेमा चार पुरुष र चार महिला छन् । त्यस्तै, सात पुरुष, १० महिला, एक बालक र तीन बालिका गरी २१ जना सामान्य घाइते भएका छन् ।
तीव्र गति नियन्त्रण गर्ने, हेल्मेट र सिटबेल्ट अनिवार्य प्रयोग गर्ने, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने तथा सवारीसाधनको अवस्था जाँच गरेर मात्र यात्रा गर्ने बानीले दुर्घटनाको जोखिम घटाउन सकिने ट्राफिक प्रहरीले जनाएकाे छ ।
ट्राफिक प्रहरीले ट्राफिक नियमबारे सचेतना फैलाउने, सवारीसाधनको निगरानी गर्ने र नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने कामलाई निरन्तरता दिइएको छ ।
प्रकाशित मिति २०८३ कात्तिक ८ गते शनिबार १०:३७




