पोखरा ।
जनकपुरधाम–मिथिलाञ्चल क्षेत्रमा आज परम्परागत सांस्कृतिक विधिअनुसार कोजाग्रत पूर्णिमा पर्व हर्षोल्लासपूर्वक मनाइएको छ ।
यसै अवसरमा ऐतिहासिक जानकी मन्दिरमा भगवान राम र माता सीताको ‘चुमाओन’ अनुष्ठानका लागि महोत्तरीको पिपरा गाउँपालिकास्थित रतौलीबाट १०८ वटा ‘पाहुर’ (सनेस–कोसेलीको भार) भित्र्याइएको छ ।
विगत १४२ वर्षदेखि अविच्छिन्न रूपमा चलिआएको यो परम्पराले यस वर्ष पनि निरन्तरता पाएको हो । महोत्तरीको रतौली निवासी स्वर्गीय महेन्द्रप्रसाद ठाकुरको परिवारले पुस्तौँदेखि कोजाग्रत पूर्णिमाका अवसरमा जानकी मन्दिरमा पाहुर पठाउँदै आएको छ ।
सोही ऐतिहासिक परम्परा अनुसार आज जानकी मन्दिर परिसर पु¥याइएको पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल, मौसमी तरकारी तथा भगवान श्रीराम र माता जानकीका लागि विशेष वस्त्रहरू समावेश गरिएका छन् ।
सोही पाहुर समर्पण गरी मन्दिरमा शास्त्रीय विधिद्वारा सीतारामको चुमाओन अनुष्ठान सम्पन्न गरिएको हो ।
ठाकुर परिवारका सदस्य नवीन ठाकुरले विगत १४२ वर्षदेखि शुरु भएको यो विशिष्ट पारिवारिक तथा सांस्कृतिक धरोहरलाई कुनै पनि हालतमा टुट्न नदिने प्रतिवद्धता व्यक्त गरे ।
उनकाअनुसार पूर्खादेखि हस्तान्तरण हुँदै आएको यस सांस्कृतिक जिम्मेवारीलाई नयाँ पुस्ताले समेत गौरवका साथ निरन्तरता दिइरहेको छ ।
कोजाग्रत पूर्णिमाको अवसरमा जानकी मन्दिर परिसरमा विशेष भजनकीर्तन तथा मिथिलाको मौलिक हास्यपरिहास (ठट्टा र मनोरञ्जनात्मक) कार्यक्रम आयोजना गरिएको छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन उत्सवको उल्लास बढाउन परम्परागत हास्यव्यङ्ग्य र सांस्कृतिक गायनको प्रवन्ध मिलाइने जानकारी दिए ।
यस पर्वले मन्दिरमा मात्र नभई समग्र मिथिलाञ्चलवासीमा छुट्टै उमङ्ग ल्याउने गरेको उनको भनाइ छ ।
धार्मिक अनुष्ठानका अतिरिक्त कोजाग्रत पूर्णिमा मिथिलाका नवविवाहित दम्पतीहरूका निम्ति पनि विशेष सामाजिक उत्सवका रूपमा स्थापित छ । यस दिन बेहुलाको घरमा ससुराली पक्षबाट विशेष पाहुर पठाउने गरिन्छ ।
ससुरालीबाट आएको पाहुरका सामग्री प्रयोग गरी ज्येष्ठ महिलाहरूले विशेष मन्त्रोच्चारणका साथ बेहुलाको चुमाओन गरी ‘दुरवाक्षत’ (दूबो र अक्षतासहितको आशीर्वाद) दिने चलन छ ।
अनुष्ठान सम्पन्न भएपछि परिवार र आफन्तजनलाई भव्य भोज खुवाउने तथा गाउँभरि पान र मखान वितरण गरी एकापसमा खुशी साटासाट गर्ने मौलिक परम्परा मिथिलाञ्चलमा रहेको छ ।
प्रकाशित मिति २०८३ कात्तिक ९ गते आइतबार ०२:३०




