२०८३ कात्तिक १० गते सोमबार

देउवा समूहको महाधिवेशन : ३५ मध्ये नौ जिल्लामा नेतृत्व चयन

देउवा समूहको महाधिवेशन : ३५ मध्ये नौ जिल्लामा नेतृत्व चयन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक १० गते सोमबार ०८:२८

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूह १५औं महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनहरू गरिरहेको छ । संस्थापनले १५औं महाधिवेशन सम्पन्न गरिसके पनि देउवा समूहले समानान्तर रुपमा तल्लो तहका अधिवेशन...

काठमाडौं ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूह १५औं महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनहरू गरिरहेको छ । संस्थापनले १५औं महाधिवेशन सम्पन्न गरिसके पनि देउवा समूहले समानान्तर रुपमा तल्लो तहका अधिवेशन गरिरहेको छ ।

१५ असोजबाट वडा अधिवेशन सुरू गरेको उक्त समूहले १५ कात्तिकमा जिल्ला अधिवेशनहरू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, देउवा समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयले सोमबारसम्म एकमात्र प्रतिनिधिसभा क्षेत्र भएका नौ जिल्लहरूमा जिल्ला अधिवेशनमार्फत नेतृत्व चयन भइसकेको जनाएको छ ।

सम्पर्क कार्यालयका अनुसार देउवा समूहले एकमात्र प्रतिनिधिसभा क्षेत्र भएका ३५ मध्ये नौ जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न गरेको हो । चुनदेवीले उपलब्ध गराएको तथ्यांकमा पूर्वसभापति देउवाको गृहप्रदेश सुदूरपश्चिमका दुई जिल्ला डोटी र बैतडीमा जिल्ला नेतृत्व चयन भएको छ ।

डोटीको जिल्ला अधिवेशनले बाजीसिंह खड्का (विजय) लाई सभापति चयन गरेको छ । उनी दिपायल सिलगढी नगरपालिकाका प्रमुखसमेत हुन् ।

यस्तै आइतबार सम्पन्न जिल्ला अधिवेशनबाट वीरबहादुर बिष्ट देउवा समूहको बैतडी सभापति बनेका छन् । कांग्रेस सभापति गगनकुमार थापाका सहपाठीसमेत रहेका उनी सुर्नया गाउँपालिकाका पूर्वअध्यक्ष हुन् ।

सुदूरपश्चिममा एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका ६ जिल्ला (दार्चुला, बैतडी, बाजुरा, बझाङ, डडेल्धुरा र डोटी) छन् ।

यस्तै कांग्रेसको १५औं महाधिवेशनमा तटस्थ बसेका पूर्वउपसभापति पूर्णबहादुर खड्काको गृहप्रदेश कर्णालीका ६ जिल्लामा देउवा समूहले नेतृत्व चयन गरेको छ ।

देउवा समूहको महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको सचिवालयले डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालिकोट र रुकुम पश्चिममा जिल्ला अधिवेशन सम्पन्न भएको जनाएको छ ।
सचिवालयका अनुसार डोल्पामा देउप्रसाद बुढा, हुम्लामा सूर्यबहादुर शाही, जुम्लामा नेत्रकला शाही र मुगुमा तिलकबहादुर मल्ल जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

यस्तै कालिकोटको जिल्ला अधिवेशनबाट नगेन्द्र बिष्ट सभापतिमा सर्वसम्मत निर्वाचित भएका नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए । बिष्ट नरहरिनाथ गाउँपालिका अध्यक्ष हुन् । उनी १४औं महाधिवेशनमा जिल्ला सचिवमा निर्वाचित भएका थिए ।

देउवा समूहले रुकुम पश्चिममा पनि जिल्ला अधिवेशन सम्पन्न गरेको छ । जिल्ला अधिवेशनबाट नन्दबहादुर बिष्ट सभापतिमा निर्वाचित भएका छन् ।

१० जिल्ला रहेको कर्णाली प्रदेशमा सुर्खेत र दैलेखबाहेकका आठ जिल्लाहरूमा एकमात्र प्रतिनिधिसभा क्षेत्र छ । नेता शाहीका अनुसार दैलेखमा १२ कात्तिकमा जिल्ला अधिवेशन हुँदैछ ।

देउवा समूहले कोशी प्रदेशको संखुवासभामा पनि जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । संखुवासभामा रामकुमार जिमी सभापतिमा निर्वाचित भएका संयोजक कोइरालाको सचिवालयले जनाएको छ ।
देउवा समूहको १७–१८ भदौमा बसेको बैठकले १५औं केन्द्रीय महाधिवेशन २१–२३ मंसिरमा गर्ने निर्णय गरेको थियो ।

जसअनुसार देशभरका ६ हजार ७४३ मध्ये ६ हजार १०७ वडामा अधिवेशन सम्पन्न भइसकेको चुनदेवीले जनाएको छ । चुनदेवी कार्यालय स्रोतले उपलब्ध गराएको तथ्यांकले देउवा समूहले ४८० पालिकामा पालिका अधिवेशन सम्पन्न भइसकेको देखाएको छ ।

तथ्यांकअनुसार कोशीका ८९, मधेशका ५४, बागमतीका ७०, गण्डकीका ५०, लुम्बिनीका ८६, कर्णालीका ५५ र सुदूरपश्चिमका ७६ पालिकाहरूमा पालिका अधिवेशन भएको छ ।

यस्तै कोशीका ३४, मधेशका २६, बागमतीका ४०, गण्डकीका १४, लुम्बिनीका २४, कर्णालीका १४ र सुदूरपश्चिमका १८ गरी १७० प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन पनि सम्पन्न भएका छन् ।

तथ्यांकमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनअन्तर्गत कोशीका १७, मधेशका १३, बागमतीका २०, गण्डकीका ७, लुम्बिनीका १२, कर्णालीका सात र सुदूरपश्चिमका ९ गरी ८५ स्थानमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको देखाउँछ ।

प्रकाशित मिति २०८३ कात्तिक १० गते सोमबार ०८:२८
हजुरको प्रतिक्रिया