२०८३ कात्तिक ११ गते मंगलबार

मुग्लिन–पोखरा अब सररर

मुग्लिन–पोखरा अब सररर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक ११ गते मंगलबार ०५:११

पृथ्वी राजमार्ग अहिले सहरी क्षेत्रमा छ लेन र अन्यत्र चार लेनको भएको छ ।

मुग्लिन–पोखरा सडकखण्डको समग्र भौतिक प्रगति ७० दशमलव आठ प्रतिशत

पोखरा ।

५ दशकअघि बनेको २ लेनको पृथ्वी राजमार्ग स्तरोन्नति करिब सकिएको छ । पृथ्वी राजमार्ग अहिले सहरी क्षेत्रमा छ लेन र अन्यत्र चार लेनको भएको छ ।

तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ दशमलव पाँच किलोमिटरलाई पूर्वी र जामुनेदेखि पोखरासम्मको ३८ दशमलव चार किमीलाई पश्चिम खण्डमा विभक्त गरी राजमार्ग स्तरोन्नति भएकोछ । पूर्वी खण्डको काम सकिइसकेको छ भने पश्चिम खण्डको सडक निर्माणका धेरै काम सकिएकाछन् । यो खण्डमा सर्भिस लेन, फुटपाथ, रङरोगन आदि काम बाँकी छन् ।

मुग्लिन पोखरा सडक आयोजना (पश्चिम खण्ड)का आयोजना प्रमुख कृष्णबहादुर कुँवर आयोजनाको समग्र भौतिक प्रगति ७० दशमलव आठ प्रतिशत पुगेको बताउँछन् ।निर्माण कम्पनीको पछिल्लो म्याद आगामीमंसिर १० गते म्याद सकिँदै छ । तोकिएको म्यादभित्रै मुख्य काम सकिनेआयोजना प्रमुख कुँवरको भनाइ छ ।

‘पृथ्वीचोकका दुई सिग्नेचर पुल यो वर्षभित्र सकिने गतिमा छन् । सडक खण्ड पनि म्यादभित्रै सकिन्छ, केही सौन्दर्यकरणका काम बाँकी रहलान्,’ आयोजना प्रमुख कुँवरले भने ।वि. सं. २०७८ जेठमा यो खण्डको ठेक्का सम्झौता भएको थियो ।

एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा स्तरोन्नति भएको सडकको पश्चिम खण्ड निर्माणको जिम्मा चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । यो खण्डको लागत सात अर्ब ४० करोड ४६ लाख ८१ हजार छ ।

पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेनको सडक बनेको छ भने पश्चिम खण्डमा अन्यत्र चार लेनको सडक छ ।यो खण्डमा चार लेनको १८ मिटर चौडा१२ किमी, चार लेनको २३ मिटर चौडा सडक आठ दशमलव पाँच किमी र छ लेनको ४६ मिटर सडक १८ दशमलव तीन किमी बनेका छन् ।

यो खण्डमा चार ठूला र आठ साना पुल छन् । सेती नदीमा पृथ्वीचोकमा बन्ने दुई सिग्नेचर पुलबाहेक अरु पुल बनिसकेका छन् । पोखरा महानगरभित्र खानेपानीका पाइप र बिजुली पोल व्यवस्थापन, मापदण्डका संरचना हटाउन ढिलाइ हुँदा काम प्रभावित भएको थियो । सडक मापदण्डमा पर्ने कास्कीतर्फका ३७ वटा घरको क्षतिपूर्ति हालै निर्धारण भएको छ ।

तनहुँतर्फ अझै चार वटा घरको क्षतिपूर्ति निर्धारण हुन बाँकी छ । कास्की क्षेत्र नम्बर २ का सांसद उत्तमप्रसाद पौडेल पोखरा र गण्डकी प्रदेशको जीवनरेखा पृथ्वीराजमार्ग स्तरोन्नतिमा ढिलाइ हुन नहुने बताउँछन् । उनी भन्छन्,‘आयोजनामा आएका अप्ठेरा हटाउन पनि हामी लागेका छौँ, कुनै पनि बाहानामा थप ढिलाइ हुनु हुँदैन ।’

अहिले चार लेनको सडकको बिचमा दुई लेनको पुल हुँदा पृथ्वीचोकको चाइनापुलमा ट्राफिक जाम भइरहन्छ । अहिलेको पुलभन्दा उत्तर र दक्षिणतर्फ दुवैतिर डबल लेनका दुई सिग्नेचर पुल बन्दै छन् । अलग्गै ठेक्का लगाइएका यी पुलको निर्माण पनि यही आर्थिक वर्षभित्र सक्ने लक्ष्य छ ।

आयोजनका इन्जिनिर अनन्त बराल उत्तरतर्फको पुल पुस दोस्रो सातासम्म सकिने बताए । दक्षिणतर्फको सिग्नेचर पुल भने असारभित्र सक्ने लक्ष्य लिइएको छ । ‘निर्माणका केही जनशक्ति चीनबाट झिकाउनुपर्ने भएकाले यो प्रक्रियामा छ, जनवरीबाट माथिल्लो पुल सञ्चालन गर्ने योजना छ,’ बरालले भने ।

आयोजनाले सेती नदीमा एक सय ९० मिटरका दुई लेनका दुई पुल बनाएपछि पुरानोसहित त्यहाँ तीन पुल हुने छन् । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले एक अर्ब सात करोड २४ लाखमा पुल निर्माण गरिरहेको छ । २०२५ डिसेम्बर ६ सम्म सक्नुपर्ने पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ ।

प्रकाशित मिति २०८३ कात्तिक ११ गते मंगलबार ०५:११
हजुरको प्रतिक्रिया