२०८३ कात्तिक १५ गते शनिबार

सञ्चारमाध्यममाथिको धरपकडविरुद्ध जनकपुरधाममा पत्रकारको प्रदर्शन

सञ्चारमाध्यममाथिको धरपकडविरुद्ध जनकपुरधाममा पत्रकारको प्रदर्शन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक १५ गते शनिबार ०२:३४

सञ्चारमाध्यममा प्रहरी पुगेर अचानक धरपकड गर्नु पत्रकारितालाई आतङ्कित पार्ने योजनाका रूपमा आफूहरूले लिएको एक प्रदर्शनकारीले बताए ।

काठमाडौँ ।

सञ्चारमाध्यममाथि प्रहरीले गरेको धरपकड र पत्रकार पक्राउको विरोधमा जनकपुरधाममा पत्रकारहरूले प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासङ्घको केन्द्रिय समितिको सर्कुलरअनुसार महासङ्घका जिल्ला शाखाहरूले गरेको विरोध कार्यक्रमअन्तर्गत जनकपुरधाममा पत्रकारहरूले प्लेकार्डसहित मौन प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी पत्रकारहरूले सञ्चारगृहमा प्रवेश गरी प्रहरीले गरेको धरपकड र पत्रकार पक्राउ गर्ने कार्यले स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गर्ने बताएका छन् ।

सञ्चारमाध्यममा प्रहरी पुगेर अचानक धरपकड गर्नु पत्रकारितालाई आतङ्कित पार्ने योजनाका रूपमा आफूहरूले लिएको एक प्रदर्शनकारीले बताए ।

पत्रकारसँग कुनै विषयमा सोधपुछ वा छलफल गर्नुपर्ने भए सहज रूपमा बोलाउन सकिने अवस्था हुँदाहुँदै सञ्चारगृहमै पुगेर गरिएको धरपकड अस्वीकार्य रहेको उनको भनाइ छ ।

उनले पत्रकारजस्तो सचेत पेसाकर्मीलाई सामान्य सोधपुछका लागि बोलाउँदा उपस्थित नहुने अवस्था नरहेको उल्लेख गर्दै राज्यले यस्तो कदम चाल्नु उचित नभएको बताए ।

उनले विगत आठ–दश दशकको राजनीतिक इतिहासमा राज्यका यस्ता प्रयास सफल नभएको र अहिले पनि सफल नहुने दाबी गरे ।

महासङ्घले सञ्चारमाध्यममाथिको धरपकड र पत्रकार पक्राउको विरोधमा आगामी दिनमा पनि चरणवद्ध आन्दोलन गर्ने जनाएको छ ।

केन्द्रिय समितिको निर्देशनअनुसार देशभरका जिल्ला शाखाहरूले विरोधका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको महासङ्घका प्रतिनिधिले जानकारी दिए ।

प्रकाशित मिति २०८३ कात्तिक १५ गते शनिबार ०२:३४
हजुरको प्रतिक्रिया