काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले आफ्नो ‘राष्ट्रिय एकता अभियान’ स्थगित गरेका छन्। राप्रपाको अध्यक्षमा पराजित भएपछि थापाले अलग्गै ‘एकता अभियान’ घोषणा गरेका थिए।
पुस २७ गते (पृथ्वी जयन्ती)को अवसर पारेर थापाले अभियान सुरु गर्ने घोषणा गरेका थिए। तर, राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुले अहिलेका लागि अभियान रोक्न सुझाव दिएकाले सोहीअनुसार अभियान स्थगित गरिएको थापाले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।
‘पौष २७ (गते) सुरु गर्न लागिएको ‘राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्।
थापाले राप्रपाको अध्यक्षमा आफूले बेहोरेको पराजयका लागि निर्मल निवास (पूर्व राजा ज्ञानेन्द्र शाह)लाई जिम्मेवार रहेको आरोप लगाउँदै आएका छन्।
आफ्नो पराजयमा पूर्वराजाले नै भूमिका खेलेका कारण थापाले राप्रपा विभाजन गरी नयाँ पार्टी खोल्न लागेको चर्चा पनि चलेको थियो। नयाँ पार्टी खोल्नकै लागि थापाले अलग्गै अभियान चलाउन खोजेको पनि राप्रपाकै केही नेताहरुले टिप्पणी गर्ने गरेका थिए।
थापाले भने राप्रपा नफुटाउने भनेर आफूले गीता (भगवत गीता) छोएर कसम खाएको बताउने गरेका छन्।
प्रकाशित मिति २०७८ पुस २५ गते आइतबार ०४:४१




