काठमाडौँ ।
नेकपा एमालेका सांसद ऐनबहादुर महरले वर्तमान सरकार विचौलियाहरुले चलाइरहेको आरोप लगाएका छन् र
अहिले सरकार प्रधानमन्त्रीले नभई प्रधानमन्त्रीको सचिवालयले चलाएको र सचिवालयका व्यक्तिहरु सबै विचौलियासँग जोडिएको उनको आरोप छ ।
संविधान, कानुन र राज्यका संस्थागत संरचनाले नचिनेका व्यक्तिहरूले राज्य सञ्चालनमा हस्तक्षेप गरिरहेको उनले बताए । प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूले पक्राउ परेका बिचौलियाको अनुसन्धानमा हस्तक्षेप गरेको उनले बताए ।
एमाले राष्ट्रिय भेलामा पत्रकारहरुसँग कुरा गर्दै उनले वर्तमान सरकारले आरोप राज्यका संवैधानिक तथा कानुनी निकायलाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाए ।
उनले मन्त्रालयको संख्या घटाउने तर प्रधानमन्त्रीको सचिवालय विस्तार गर्ने सरकारी कार्यशैलीमाथि पनि प्रश्न उठाए । सरकारले जनतालाई दिएका आश्वासन समेत पूरा गर्न नसकेको उनको भनाई छ ।
उनले भने, ‘प्रधानमन्त्रीको मुख्य सल्लाहकारले बिचौलियाको फोन प्रहरीकोमा जानु भन्दा अगाडि जान्छ, आफ्ना सबै कुराहरु हटाउछ । बिचौलियाको अनुसन्धान गर्दा प्रधानमन्त्रीका सचिवालयका मान्छे गएर हस्तक्षेप गर्छ । मन्त्रालय घटाउछन्, सचिवालय बढाउछन् । अनि सचिवालयका मान्छे के गर्छन् ? दिनदहाडै राज्यका इन्स्टिट्युसनहरुमाथी हस्तक्षेप गर्छन् । संविधान, कानुनले नचिनेका मान्छेहरुले राज्यलाई आज नाङ्गो हस्तक्षेप गरेर बेवकुफ बनाइरहेका छन् । निकम्मा बनाइरहेका छन् । यो गम्भीर कुरा हो, एक प्रकारको अराजकता हो । फासीवादी शैलीबाट सरकार अगाडि बढी रहेको छ ।’
स्थानीय निर्वाचनमा एमाले पहिलो शक्ति बन्छ
उनले राष्ट्रिय भेलाबाट फर्केपछि सरकारका अराजक गतिविधि जनताको बीचमा लैजाने बताए । राष्ट्रिय भेलाले पार्टीभित्र राजनीतिक बुझाईमा एकरुपता कायम गर्न सहयोग गरेको उनले बताए ।
अब पार्टीभित्र देखिएको निराशालाई चिर्दै शसक्त भएर आगामी स्थानिय तहको निर्वाचनमा लाग्ने उनको भनाई छ । उनले आगामी स्थानीय तह निर्वाचनमा एमालेले उम्मेदवार छनोट प्रक्रिया तल्लो तहबाटै अघि बढाउने पनि जानकारी दिए ।
सम्बन्धित पालिकाको उम्मेदवार पालिका तहबाट र वडाको उम्मेदवार वडा तहबाटै छनोट गर्ने योजना रहेको उनको भनाई छ ।
उनले भने, ‘यसपटक हामीले उम्मेदवार चयन कार्यकर्ताले नै चयन गर्ने भनेका छौँ । सम्बन्धित पालिकाको उम्मेदवार पालिकाले नै चयन गर्ने, वडाको उम्मेदवार वडाले नै चयन गर्ने । त्यही भएर त्यहाँको जनताले रुचाएको, कार्यकर्ताले रुचाएको उम्मेदवार चयन गर्ने र अझ त्यो ठाउँका एजेन्डाहरू पनि तय गर्नेगरि तयारी गर्दैछौ । स्थानीय तहमा त स्थानीय एजेन्डाहरू प्रधान हुन्छन् । यो छोटो कार्यकालमा नयाँ भनिएकाहरूलाई पनि जनताले राम्रैसँग बुझिसकेका छन् । जनताले हामीले ठूलो कमजोरी गर्यौँ, हामीले गल्ती गर्यौँ भनेर धेरै सामाजिक सञ्जालमा लेख्न थालिसकेका छन् । त्यसैले आउने स्थानीय तह निर्वाचनमा जनताले त्यो कुरा बुझ्नुहुन्छ र एमाले पहिलो शक्ति बन्छ, फेरि पनि स्थानीय तहका निर्वाचनहरूमा एमालेले विजय हासिल गर्नेछ ।’
उनले एमालेले संघियतालाई मजबुद बनाउन एमालेले आगामी सबै निर्वाचन जित्नुपर्ने बताए ।
स्थानिय तहमा विगतमा गरेको विकास निर्माण र सेवा कारण पनि एमालेले विजयी हासिल गर्ने उनको दाबी छ ।
आगामी स्थानीय तह निर्वाचनमा एमाले पुनः पहिलो राजनीतिक शक्ति बन्ने उनले बताए ।
प्रकाशित मिति २०८३ मंसिर ४ गते बिहीबार ०४:०३





