२०८३ मंसिर ५ गते शुक्रबार

९५ वर्षीय ज्येष्ठ नागरिकबाट पक्की पुल उद्घाटन, तोडियो परम्परा

९५ वर्षीय ज्येष्ठ नागरिकबाट पक्की पुल उद्घाटन, तोडियो परम्परा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर ५ गते शुक्रबार ०३:१०

यसअघि वर्षायाममा खहरे खोलामा आउने बाढीका कारण स्थानीयले जोखिम मोलेर खोला पार गर्नुपर्ने बाध्यता थियो । पुल सञ्चालनमा आएपछि उक्त समस्या अन्त्य हुने अपेक्षा गरिएको छ ।

पोखरा ।

विकास निर्माणका संरचना राजनीतिक नेता तथा जनप्रतिनिधिबाट उद्घाटन गराउने परम्परा तोड्दै लमजुङमा ९५ वर्षीय ज्येष्ठ नागरिकबाट पक्की पुल उद्घाटन गरिएको छ ।

मध्यनेपाल नगरपालिका–१ र २ जोड्ने खहरे खोलामा निर्माण सम्पन्न भएको पक्की पुल स्थानीय ९५ वर्षीय गोरे सार्कीले रिबन काटेर उद्घाटन गरेका हुन् ।

मध्यनेपाल नगरपालिका–१ का वडाध्यक्ष सुदीप थापाले परम्परागत शैलीभन्दा फरक अभ्यास गर्दै समाजका ज्येष्ठ नागरिक सार्कीलाई पुल उद्घाटनको सम्मान प्रदान गरेका हुन् ।

पुल उद्घाटनका विषयमा विभिन्न पक्षबाट राजनीतिक दबाब र धम्कीसमेत आएको वडाध्यक्ष थापाले बताए ।

तर जनताको कर र पसिनाबाट निर्माण भएको संरचना जनताकै हातबाट उद्घाटन हुनुपर्ने अडानबाट आफू पछि नहटेको उनको भनाइ छ ।

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत करिव ३ करोड ५० लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो ।

मध्यनेपाल नगरपालिका–१ को जीताटारमा निर्माण भएको पुल सञ्चालनमा आएसँगै वडा नम्बर १ र २ का बासिन्दालाई आवतजावतमा सहज भएको छ ।

यसअघि वर्षायाममा खहरे खोलामा आउने बाढीका कारण स्थानीयले जोखिम मोलेर खोला पार गर्नुपर्ने बाध्यता थियो । पुल सञ्चालनमा आएपछि उक्त समस्या अन्त्य हुने अपेक्षा गरिएको छ ।

राजनीतिक नेतृत्वबाट मात्रै विकास निर्माणका संरचना उद्घाटन गराउने प्रचलनबीच ज्येष्ठ नागरिकलाई दिइएको प्राथमिकतालाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् ।

यसले सार्वजनिक संरचनामा नागरिकको अपनत्व र ज्येष्ठ नागरिकप्रतिको सम्मानको सन्देश दिएको छ ।

प्रकाशित मिति २०८३ मंसिर ५ गते शुक्रबार ०३:१०
हजुरको प्रतिक्रिया