जेनजीले आक्रमण गरेकाे नभइ बचाएकाे जिकिर
पोखरा ।
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विशेष महाधिवेशनको नाममा पार्टी कब्जा गर्ने र विघटन गराउने षड्यन्त्र भएको आरोप लगाएका छन् । पार्टीको आफ्नो समूहको गण्डकी प्रदेश अधिवेशनमा बोल्दै उनले सिग्नेचर र भेरिफिकेसन नहुँदा पनि विशेष महाधिवेशन भन्दै अगाडि बढाइनु गैरकानुनी भएको उनको भनाइ थियो ।
शनिबार पोखरामा आयोजित कार्यक्रममा उनले भने, ‘विशेष महाधिवेशन पार्टीलाई षड्यन्त्रपूर्वक कब्जा गर्ने षड्यन्त्र थियो हेर्नुस्, त त्यसको खिलाफमा लड्नु मेरो कर्तव्य हो,’ उनले भने ।
अधिवेशनमा सहभागी हुन आएका तर भोलि के गर्ने भन्ने अन्योलमा परेका नेता तथा कार्यकर्ताप्रति लक्षित गर्दै पार्टीको आधिकारिकताका बारेमा धेरै कुरा बोल्न आवश्यक नरहेको उनले बताए । पार्टी इतिहासमा सुवर्ण समशेर सभापति हुँदा विशेष महाधिवेशनको भएको सन्दर्भ र अभ्यास फरक रहेको उनको भनाइ थियो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आफूलाई जेनजीले आक्रमण गरेको नभइ बताएको उनको भनाइ थियो । उमेरले ५० कटेका र हातमा लाठा लिएर आएकाहरुले आफूहरुमाथि आक्रमण गरेको उनले बताए । ‘जेनजीहरूले मलाई बचाएको हो, फोटोमा देखिन्छ हेर्नुस्, ती बच्चाहरूले मलाई बचाएको हो,’ उनले भने । भदौ २३ र २४ को घटनापछि आफू बाँच्ने अवस्था नरहेको देउवाको भनाइ थियो । ‘म त के भनेपछि मर्न पनि काल आउनुपर्ने रहेछ, भन्ने मलाई विश्वास भयो मलाई, मेरो श्रीमती र मैले नै मार खाने दिन आयो, उनले भने ।
आफू बाँच्नुमा छिमेकी र नेपाली दाजुभाइको कृपा रहेको देउवाले बताए । आफूहरु दुवैजना मरणासन्न हुँदा सेनाले हेलिकप्टर समेत पठाएर हामीलाई बचाउन खोज्दा समेत हेलिकप्टर ल्यान्ड गर्न नदिइको बताए । ‘मेरो बाटो मेरो घर जाने बाटोमा सारा मान्छेहरु ओइरिएका हुनाले सेनाले त्यहाँ आउन त मान्छे मार्नुपर्छ हजुर हामी त आउन सक्दैनौँ भन्यो,’ उनले भने । पछि अर्को बाटोबाट सेनाले गाडी पठाएर आर्मी क्याम्पमा राखेको र आर्मी अस्पतालमा लगेको देउवाले बताए ।
उनले भने, ‘मेरी श्रीमती त मन्त्री थिइन् हान्यो, ठिक छ, तर कृष्णप्रसाद भट्टराईको आश्रम, बिपीको बाबुको घर घर विराटनगरमा कि हान्यो ?, उनले प्रश्न गरे । पार्टी अफिसमा समेत आक्रमण गर्नु यो कांग्रेसको खिलाफको षड्यन्त्र हो भन्ने कुरा बुझ्नुपर्ने उनको भनाइ थियो ।
आफ्नो घरमा आगो लगाउनुपर्छ भन्दै हिँडेको र आफूलाई मार्छु भन्ने मान्छेले नै गगन थापाको हातबाट टिकट लिएर चुनाव लडेको उनले बताए । ‘त्यहाँ स्पष्ट भइसक्यो, यो चाहिँ नि देशभरि हाम्रो नेताजीहरूको घरमा आगो लगाउने, हामीलाई मार्न खोज्ने, अब पछाडि को को छ भन्ने कुरा स्पष्ट छ,’ उनले भने ।
स्वास्थ्य उपचारका लागि सिंगापुरबाट फर्किएको प्रसंग जोड्दै देउवाले आफ्नो जीवन जनता र लोकतन्त्रका लागि समर्पित रहेको बताए । ‘म सिंगापुर गएँ, फेरि अर्को उपचार गर्न प¥यो भनेर हङकङ गएँ त्यहाँ, त्यहाँ मेरो पूर्ण उपचार भएपछि म एकदम ठिक छ, म सबै साथीभाइको सद्भाव र नेपाली दाजुभाइ दिदीबहिनीको कृपाले गर्दा म बाँचेको छु, त्यसै कारणले मैले बुझेको छु’, उनले भने ।
५ पटक प्रधानमन्त्री भइसकेको स्मरण गर्दै देउवाले आफूलाई अब केही नचाहिएको बताए । ‘मलाई के चाहिया छैन हेर्नुस्, मैले पाइसक्या छु, ५ पटक देशको प्रधानमन्त्री भएर मैले धेरै पाइसकें, मैले देशलाई दिनुबाहेक केही छैन, यो राष्ट्रलाई दिनु छ मैले, यो लोकतन्त्रलाई अझै मजबुत गर्नु छ, यो गणतन्त्रलाई अझै मजबुत गर्नु छ, मेरो लोभ छैन,’ उनले भने ।
सानो उमेरदेखि नै जेल परेको र बुवाले सेनामा पठाउन खोज्दा पनि राजनीतिमा लागेको देउवाले स्मरण गरे । ‘२०÷२१ वर्षको बेलादेखि नै जेल परेको व्यक्ति हो हेर्नुस्, मेरो बुवाले मलाई सेना पठाउन चाहनुहुन्थ्यो, सेनामा गएको भए लप्टन बनिन्थ्यो कि ? अब यो देशको लोकतन्त्रको लागि मैले आफ्नो समर्पित गर्नुबाहेक केही पनि छैन,’ उनले भने ।
कार्यक्रममा महाधिवेशन आयोजक समिति संयोजक डा. सशांक कोइराला, नेताहरु विमनलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, जीतजंग बस्नेतललगायतका नेताहरुले शुभकामना व्यक्त गरे ।
कार्यक्रमका सभापति एवं प्रदेश महाधिवेशन आयोजक समिति संयोजक मेखलाल श्रेष्ठले पार्टीभित्रका असन्तुष्ट र टाढिएका साथीहरूलाई मनाएर एकताबद्ध बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले यो गण्डकी प्रदेशलाई खाली नेतृत्व चयन मात्र होइन, अब हामीले गण्डकी प्रदेशका जनताहरूसँग, गण्डकी प्रदेशको सरकारहरूसँग, स्थानीय निकायहरूसँग कसरी गण्डकी प्रदेशलाई स्थापित गराउन सकिन्छ,’ उनले भने ।
पोखरा सभागृहमा उद्घाटन भएको अधिवेशनको निर्वाचन कार्यक्रम भने सिल्भर प्लेट पार्टी प्यालेसमा आइतबार हुने भएको छ । नेतृत्व सर्वसम्मत चयन गरिने प्रतिबद्धता नेताहरुले जनाएका छन् । निर्वाचन प्रक्रिया सुरु भइसकेको निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता वीरेन्द्र केसीले बताए ।





