२०८३ मंसिर ९ गते मंगलबार

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम जतिसक्दो छिटो अघि बढाउन पुनः बोलपत्रः आचार्य

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम जतिसक्दो छिटो अघि बढाउन पुनः बोलपत्रः आचार्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर ९ गते मंगलबार १२:०४

यसका लागि जलस्रोत तथा सिंचाई विभाग र आयोजना कार्यालयले तिब्र रूपमा काम गरिरहेको आचार्यले जानकारी दिए । आचार्यकाअनुसार सुनकोशी–मरिण डाइभर्सन आयोजना नेपालको कृषि विकास र जलस्रोतको अधिकतम उपयोगका दृष्टिले महत्वपूर्ण आयोजना हो ।

काठमाडौँ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम जतिसक्दो छिटो अघि बढाउन पुनः बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।

आयोजनामा ठेकेदार छनोट प्रक्रिया अघि बढाउन बोलपत्रसम्बन्धी कागजात तथा मूल्यांकन विधिलाई अद्यावधिक गर्ने काम भइरहेको मन्त्रालयले जनाएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले आयोजनाको निर्माण कार्य शिघ्र शुरु गर्नु मन्त्रालयको प्राथमिकता रहेको बताए ।

उनकाअनुसार चालु आर्थिक वर्षमै लागत अनुमान स्वीकृत भइसकेकाले त्यसलाई पुनः अद्यावधिक गर्नुपर्ने अवस्था छैन । नयाँ खरिद ऐन तथा नियमावलीअनुसार मूल्याङ्कन पद्धति र बोलपत्रसम्बन्धी कागजात भने अद्यावधिक गर्नुपर्नेछ ।

यसका लागि जलस्रोत तथा सिंचाई विभाग र आयोजना कार्यालयले तिब्र रूपमा काम गरिरहेको आचार्यले जानकारी दिए । आचार्यकाअनुसार सुनकोशी–मरिण डाइभर्सन आयोजना नेपालको कृषि विकास र जलस्रोतको अधिकतम उपयोगका दृष्टिले महत्वपूर्ण आयोजना हो ।

तराई–मधेसलाई नेपालको अन्न भण्डारका रूपमा रहेको बताउँदै उनले त्यहाँ बाह्रै महिना सिंचाई सुविधा उपलब्ध गराउन पानीको स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए ।

हिमालयबाट उत्पत्ति भएका नदीहरूको पानी उपयोग गर्दै बढी पानी उपलब्ध हुने नदी बेसिनबाट महाभारत क्षेत्रबाट उत्पत्ति भएका नदीहरूमा पानी स्थानान्तरण गर्नु आवश्यक रहेको उनले भनाइ छ ।

उनकाअनुसार आयोजनाको सुरुङ निर्माणको प्रगति अपेक्षाभन्दा छिटो भएपनि अन्य संरचनासम्बन्धी काममा केही ढिलाइ भएको छ । अब भने प्रचलित ऐन तथा कानूनअनुसार पुनः बोलपत्र प्रक्रिया अघि बढाएर निर्माणलाई गति दिने तयारी छ ।

बोलपत्र रद्ध हुँदैमा तत्कालै मुलुकलाई ठूलो आर्थिक नोक्सानी भएको निष्कर्ष निकाल्न नसकिने आचार्यको भनाइ छ ।

यसअघि वित्तीय प्रश्ताव नखोलिएकाले वास्तविक आर्थिक प्रभाव अहिले नै आकलन गर्न नसकिने उनले बताए । पुनः बोलपत्र आह्वान गर्दा लागत घट्न सक्ने सम्भावनासमेत रहेकाले आर्थिक नोक्सानीबारे अहिले नै निष्कर्ष निकाल्न नसकिने उनको भनाइ छ ।

उनले भने,‘अब आगामी कार्यदिशाका सम्बन्धमा जतिसक्दो चाँडो प्रचलित ऐन तथा कानूनअनुसार अघि बढ्नुपर्ने अवस्था छ । किनभने हाम्रो लागत अनुमान यही आर्थिक वर्षमा स्वीकृत भएको हो । त्यसैले लागत अनुमान अद्यावधिक गर्नुपर्ने अवस्था छैन । नयाँ खरिद ऐन तथा कानूनअनुसार मूल्याङ्कनका विधि र पद्धति तथा बोलपत्रसम्बन्धी कागजातहरू भने अद्यावधिक गर्नुपर्नेछ । यसका लागि जलस्रोत तथा सिंचाई विभाग र आयोजना कार्यालय अत्यन्तै अग्रसर भएर दिनरात काम गरिरहेका छन् । यो काम जतिसक्दो चाँडो अघि बढाउने विषय निश्चित छ । मन्त्रालयको प्राथमिकता भनेको जतिसक्दो चाँडो खरिद प्रक्रिया सम्पन्न गरी ठेकेदारलाई आयोजनामा आबद्ध गराएर काम सुरु गर्नु हो । यसका लागि अब पुनः बोलपत्र आह्वान गरेर जतिसक्दो चाँडो ठेकेदारलाई काममा आवद्ध गर्नुपर्ने हुन्छ । एउटा बोलपत्र रद्द भएर अर्को बोलपत्र प्रक्रियामा जाँदैमा ठूलो आर्थिक नोक्शानी भएको भन्न मिल्दैन । अहिले तत्कालै वित्तीय प्रस्ताव नखोलिएकाले त्यसबाट भएको आर्थिक प्रभाव देखिँदैन । पुनः बोलपत्र आह्वान गर्दा लागत अझ घट्न पनि सक्छ । त्यसैले अहिले नै राष्ट्रलाई कति आर्थिक नोक्शानी भयो भन्ने निष्कर्ष निकाल्न सकिने अवस्था छैन ।’

यसअघिका ठेकेदारसँग सम्बन्धित धरौटी तथा कार्यसम्पादन जमानत जफत गर्ने विषयमा केही जमानत जफत भइसकेको र केही जफत गर्ने प्रक्रियामा रहेको आचार्यले बताए ।

खरिदसम्बन्धी निर्णय प्रक्रियाबारे स्पष्ट पार्दै आचार्यले प्रचलित खरिद ऐन तथा नियमावलीले खरिदसम्बन्धी अधिकार विभागीय तहलाई नै दिएको बताए ।

डिजाइन, लागत अनुमान तथा खरिद स्वीकृतिका प्रक्रिया मन्त्रालयबाट नभई विभागीय प्रमुखको तहबाटै अघि बढ्ने भएकाले यसका लागि मन्त्रालयको छुट्टै लिखित स्वीकृति आवश्यक नपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति २०८३ मंसिर ९ गते मंगलबार १२:०४
हजुरको प्रतिक्रिया