२०८३ मंसिर ९ गते मंगलबार

विद्युत प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणालीबारेका कागजात सात दिनभित्र बुझाउन लेखा समितिको निर्देशन

विद्युत प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणालीबारेका कागजात सात दिनभित्र बुझाउन लेखा समितिको निर्देशन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर ९ गते मंगलबार १२:४०

राज्यका कामकारबाही सञ्चालन गर्दा विधि, प्रक्रिया, पद्धति र प्रणालीलाई अनिवार्य रूपमा पालना गर्नुपर्ने उनको भनाइ थियो । यी विषय लोकतन्त्रका आधारभूत मान्यता र मापदण्ड भएकाले तिनलाई मध्यनजर गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।

काठमाडौँ ।

संसदीय समितिले नेपाल विद्युत प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तारसम्बन्धी आयोजनाका आवश्यक कागजात सात दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको समितिमा उक्त आयोजनाको आर्थिक, प्राविधिक तथा प्रक्रियागत पक्षबारे छलफल भएपछि सभापति भरतबहादुर खड्काले थप अध्ययनका लागि आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

सभापति खड्काले मंगलवारको छलफल अत्यन्त उपयोगी रहेको बताउँदै आयोजनाको आर्थिक, प्राविधिक र प्रक्रियागत विषयमा व्यापक छलफल भएको बताए ।

उनले थप जानकारी आवश्यक रहेको भन्दै सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजात समितिमा बुझाउन निर्देशन दिए । सभापति खड्काले राज्यको सेवा प्रवाहलाई प्रभावकारी बनाउनु सबैको साझा दायित्व भएको बताए ।

तर राज्यका कामकारबाही सञ्चालन गर्दा विधि, प्रक्रिया, पद्धति र प्रणालीलाई अनिवार्य रूपमा पालना गर्नुपर्ने उनको भनाइ थियो । यी विषय लोकतन्त्रका आधारभूत मान्यता र मापदण्ड भएकाले तिनलाई मध्यनजर गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।

सभापति खड्काले सार्वजनिक लेखा समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अदालतजस्तो निकाय नभएको स्पष्ट पार्दै समितिको आफ्नै निश्चित कार्यक्षेत्र रहेको बताए ।

उनले नेपाल विद्युत प्राधिकरणका राष्ट्रसेवक कर्मचारीहरूलाई विधि, प्रक्रिया र प्रणालीभित्र रहेर आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे ।

उनले भने, ‘आज नेपाल विद्युत प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तारका सम्बन्धमा अत्यन्त उपयोगी छलफल भएको मैले महशुस गरेको छु । यस आयोजनाका आर्थिक, प्राविधिक तथा प्रक्रियागत पक्षहरूबारे व्यापक छलफल भएको छ । मैले आजको छलफललाई निकै उपयोगी रूपमा लिएको छु । थप जानकारी प्राप्त गर्नुपर्ने आवश्यकता महसुस गर्दै समितिको तर्फबाट सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजातहरू समितिमा उपलब्ध गराउन निर्देशन दिन चाहन्छु । तपाईंहरूका प्राविधिक तथा नेपाल विद्युत प्राधिकरणका राष्ट्रसेवक कर्मचारी र सचिवले समेत समितिमा उपस्थित भएर आफ्ना धारणा राख्नुभएको छ । समिति र तपाईंहरू सबैको साझा उद्देश्य भनेको राज्यलाई कसरी राम्रो बनाउने र सेवा प्रवाहलाई कसरी सहज तथा प्रभावकारी बनाउने भन्ने नै हो । यो हामी सबैको साझा दायित्व हो । त्यसैले, यो दायित्व पूरा गर्ने सन्दर्भमा समिति तपाईंहरूको साथमा छ । तर प्रक्रिया, विधि, पद्धति र प्रणाली लोकतन्त्रका आधारभूत मान्यता तथा मापदण्ड हुन् । यिनै कुराका लागि हामीले लोकतान्त्रिक व्यवस्था अङ्गीकार गरेका हौँ । त्यसैले यी सबै पक्षलाई मध्यनजर गर्दै हामी अगाडि बढ्नुपर्छ । सार्वजनिक लेखा समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अदालतजस्तो निकाय होइन । यसको आफ्नै निश्चित कार्यक्षेत्र र जिम्मेवारी छन् । ती कार्यक्षेत्रभित्र रहेर समितिले स्वाभाविक रूपमा चासो राख्छ । हाम्रो उद्देश्य कुनै पूर्वाग्रह राखेर काम गर्ने होइन । हामी विषयवस्तुको अध्ययन गर्छौँ, आवश्यक सहजीकरण गर्छौँ र सम्बन्धित विषयको प्रकृति हेरेर नै थप प्रक्रिया अगाडि बढाउँछौँ ।’

समितिले सात दिनभित्र आवश्यक कागजात प्राप्त गरेपछि आयोजनाको प्राविधिक, आर्थिक तथा प्रक्रियागत पक्षमा थप अध्ययन र छलफल अघि बढाउने जनाएको छ ।

प्रकाशित मिति २०८३ मंसिर ९ गते मंगलबार १२:४०
हजुरको प्रतिक्रिया