२०८३ साउन २१ गते बिहीबार

अमेरिका पठाउने निहुमा बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ

अमेरिका पठाउने निहुमा बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २९ गते बिहीबार ०१:५४

काठमाडौं – अमेरिका पठाउने भनेर मानव बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले तुलसीपुर उपमहानगरपालिका–१९ की २४ वर्षीया सुधा देवकोटालाई पक्राउ गरेको हो। देवकोटा र उनका श्रीमान मुक्तिनारायण...

काठमाडौं – अमेरिका पठाउने भनेर मानव बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले तुलसीपुर उपमहानगरपालिका–१९ की २४ वर्षीया सुधा देवकोटालाई पक्राउ गरेको हो।

देवकोटा र उनका श्रीमान मुक्तिनारायण केसीले अमेरिका पठाउने भनेर एक व्यक्तिबाट १९ लाख र अर्को व्यक्तिबाट १५ लाख गरी ३४ लाख लिएर मानव बेचबिखन गरेको आरोप लागेको छ। मासिक ३ लाख कमाई हुने र जान ३० लाख लाग्ने भन्दै उनीहरुले रकम उठाएका थिए।

१९ लाख रुपैयाँ लिएपछि एक व्यक्तिलाई उनीहरुले सन् २०१९ को जनवरी २५ तारिखमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट इण्डोनेसियाको बाली पुर्‍याएका थिए। त्यहाँबाट जाकार्ता हुँदै बोलिभियाबाट अमेरिका छिराउने भनिएकोमा जाकार्ता एयरपोर्टमा सेटिङ नमिलेको भन्दै इथियोपिया पुर्‍याइएको थियो। इथियोपियाको बोले भन्ने शहरबाट मेक्सिको हुँदै अमेरिका छिराउने भन्दै ती व्यक्तिलाई तीन महिनासम्म एउटा कोठामा राखेर बन्धक बनाइएको पाइएको ब्यूरोका प्रवक्ता तथा एसपी राजेन्द्रप्रसाद धमलाले बताए।

बन्धक भएको अवस्थामा परिवारको सम्पर्कमा पुगेपछि परिवारले नै टिकट पठाइदिएपछि ती व्यक्ति नेपाल फर्कन सफल भएका थिए। उनले २०७६ कात्तिक २१ गते ब्यूरोमा उजुरी दिएका थिए।

अर्का एक व्यक्तिलाई पनि यो दम्पत्तिले अमेरिका पठाउने भनि यसैगरी १५ लाख रुपैयाँ लिएर भारत पुर्‍याई २ महिनासम्म बन्धक बनाएको एसपी धमलाले बताए। सुधालाई ब्यूरोको टोलीले गत मंसिर २८ गते काभ्रेस्थलीबाट पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौंले उनलाई पुस २७ गते पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएपछि केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्यूरोले जानकारी दिएको छ।

प्रकाशित मिति २०७८ पुस २९ गते बिहीबार ०१:५४
हजुरको प्रतिक्रिया