पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ उपशाखाको १२ औं साधारणसभा तथा छैटौं अधिवेशनले पुनः किसान परियारको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
पोखरा–३२ तल्लो गगनगौडामा शनिबार सम्पन्न साधारणसभा तथा अधिवेशनले उपसभापतिमा राधा थापा, सचिवमा विन्दुराज तिवारी, कोषाध्यक्षमा शरणकुमार प्रधान, सह सचिवमा कीर्तिराज खनाल र सह कोषाध्यक्षमा विमलाकुमारी थापा बस्नेतलाई सर्वसम्मत निर्वाचित गरेको हो । त्यस्तै समितिका सदस्यहरूमा नरनारायण सिग्देल, लक्ष्मीकान्त सापकोटा, चन्द्रकुमारी पुन, देवी तिवारी र भक्तबहादुर केसी छन् । समितिमा अधिकांश पूर्ववत् कार्यसमितिका छन् ।
अधिवेशनमा निर्वाचनका लागि नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका उपमन्त्री उर्मीला खड्का भण्डारीको संयोजकत्वमा नेपाल रेडक्रस सोसाइटी कास्कीका उपनिर्देशक खेमराज सापकोटा रहेका निर्वाचन समिति गठन गरिएको थियो भने सहजीकरण निवर्तमान सभापति मेघराज पौडेल र आजीवन सदस्य दोलराज पण्डितले गरेका थिए ।
यस अघि अधिवेशनको उद्घाटन समारोहमा पोखरा–३२ का वडाअध्यक्ष अक्कलबहादुर कार्कीले मानवीय सेवाका क्षेत्रमा उपशाखाले देखाएको सकृयता प्रशंसनीय भएको बताए ।
उपशाखाका सभापति किसान परियारले उपशाखाले कार्यालय भवन निर्माण, विपद् व्यवस्थापन कोष स्थापनाका साथै एम्बुलेन्स सेवा सञ्चालनलाई क्रमशः प्राथमिकतामा राख्दै अघि बढेको जानकारी दिए । उनले विपद्का साथै रगतको अभाव आदिमा उपशाखाका तर्फबाट निरन्तर प्रयास गरिएको बताए ।
उपशाखाका सभापति किसान परियारको सभापतित्व एवम् सचिव विन्दुराज तिवारीले सञ्चालन गरेका कार्यक्रममा स्वागत उपाध्यक्ष राधा थापाले गरिन् । त्यस्तै सचिव तिवारीले संस्थाको प्रतिवेदन एवम् कोषाध्यक्ष शरणकुमार प्रधानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका उपमन्त्री उर्मिला खड्का, निवर्तमान सभापति मेघराज पौडेल, वडा जनप्रतिनिधिद्वय धर्मबहादुर बस्नेत र विष्णुप्रसाद तिवारी, नेपाली काँग्रेस पोखरा–३२ का सभापति कुलप्रसाद अधिकारी, नेकपा एमाले पोखरा–३२ का अध्यक्ष चिरञ्जीवि तिवारी, नेकपा माओवादीका प्रतिनिधि अर्जुन मल्ल, आजीवन सदस्य विष्णुबहादुर बस्नेत लगायतले रेडक्रसका सिद्धान्तलाई आत्मसात गर्दै मानवीय सेवामा जुट्नुपर्नेमा जोड दिए । कुल १६२ सदस्य रहेको उपशाखाले यस क्षेत्रका विभिन्न मानवीय सेवाका काममा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।
प्रकाशित मिति २०७८ माघ २ गते आइतबार ०४:२३




