२०८३ असोज २३ गते शुक्रबार

आज कुसे औंसी, बाबुको मुख हेर्ने दिन

आज कुसे औंसी, बाबुको मुख हेर्ने दिन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ भदौ ११ गते शनिबार ०८:०७

दाहिने हातको औँलामा कुशलाई औंठीका रूपमा प्रयोग गर्दा वातावरणमा भएका गलत तरंग र विकिरणहरू निस्तेज गर्ने विश्वास छ ।

पोखरा, ११ भदौ

भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसे औंसी पर्व आज मनाइँदै छ । यस पर्वमा घरघरमा पवित्र कुश भित्र्याइन्छ । आजको दिनमै पिता सम्मान दिवस पनि मनाइँदै छ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुशको पूजा गरी घरको दलिनमा सिउरेर राख्दछन् ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भिœयाइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसे औंसी भन्ने गरिएको हो ।

सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यवहारिक जीवनशैली प्रस्तुत गरेको छ । वैज्ञानिक रूपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औँठी र अन्य सांस्कृतिक प्रयोगमा एकपछि अर्को पुस्ताले हिन्दू धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहित गरेको पाइन्छ । दाहिने हातको औँलामा कुशलाई औंठीका रूपमा प्रयोग गर्दा वातावरणमा भएका गलत तरंग र विकिरणहरू निस्तेज गर्ने विश्वास छ ।

बुबाको मुख हेर्ने दिन

आजकै दिन छोराछोरीहरूले आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गरेर पिता सम्मान दिवस मनाइँदै छ । आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवस समेत भनिन्छ । पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवंगत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ ।

आजकै दिन काठमाडौंको गोकर्ण, सुनसरीको वराहक्षेत्र, विष्णुपादुका, देवघाट आदि क्षेत्रमा पितृश्राद्ध गरे पितृहरूको मोक्ष हुने र पितृको आशिष लाग्ने शास्त्रीय मान्यताका आधारमा यी क्षेत्रमा भिड लाग्ने गरेको छ ।

 

 

प्रकाशित मिति २०७९ भदौ ११ गते शनिबार ०८:०७
हजुरको प्रतिक्रिया