२०८३ साउन २१ गते बिहीबार

लाल मोहम्मद हत्या प्रकरणमा तीनजना पक्राउ

काठमाडौं । काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या गरेको आरोपमा पर्साको वीरगञ्जलगायत स्थानबाट तीनजना पक्राउ परेका छन् । पक्राउ पर्ने तीनैजना नेपाली नागरिक रहेको बताइएको छ । प्रहरीले उनीहरूको पहिचान खुलाएको छैन । औपचारिक रुपमा प्रहरी अधिकारीहरुले पक्राउको पुष्टि पनि गरेका छैनन् । काठमाडौंको गोठाटारमा असोज ३ गते मोहम्मदलाई बा६च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ दुईजनाले गोली हानेर भागेका थिए । सर्लाहीका व्यापारी मोहम्मदमाथि कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित कृष्ण मन्दिर नजिक गोली प्रहार भएको थियो । उनी आफ्नो गाडीबाट ओर्लिएपछि हतियारधारीले लखेटेर गोली प्रहार गरेका थिए । उनको हत्यामा भारतीय आपराधिक समूहको संलग्नता हुन सक्ने आशंका गरिँदै आएको छ । बाह्रखरीलाई प्राप्त जानकारीअनुसार पक्राउ परेका तीनजना मुख्य योजनाकार नभएर सहयोगी भूमिका निर्वाह गरेका व्यक्ति हुन् । “पक्राउ परेकाहरुले महम्मदको रेकी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मुख्य योजनाकार पक्राउ परेका छैनन्,” प्रहरीका एक उच्च अधिकारीले बाह्रखरीसँग भने, “विस्तृत विवरण अनुसन्धानपछि खुल्ला । अहिले धेरै बताउन मिल्दैन ।” घटनाको अनुसन्धानका लागि एसएसपी जनकराज भट्टराईको नेतृत्वमा एक समिति गठन गरिएको थियो । मोहम्मदको हत्या गर्ने योजना भारतीय नागरिक नितिन मदनले बनाएको चर्चा चलेको थियो । काठमाडौंमा बस्दै आएका आपराधिक पृष्ठभूमिका नितिन विभिन्न अपराधका घटनामा जोडिएको बताइएको छ । उनी हुण्डी कारोबारमा संलग्न रहँदै आएको प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरी अधिकारीहरुले मोहम्मदको हत्यामा भारतीय आपराधिक समूहको संलग्नता हुनसक्ने आशंका गर्दै आएका छन् ।

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज १४ गते शुक्रबार ०१:१९

...

प्रकाशित मिति २०७९ असोज १४ गते शुक्रबार ०१:१९
हजुरको प्रतिक्रिया