२०८३ साउन २१ गते बिहीबार

नेपालकाे पश्चिमी क्षेत्रमा आइतबारसम्मै वर्षाको सम्भावना, सतर्क रहन आग्रह

नेपालकाे पश्चिमी क्षेत्रमा आइतबारसम्मै वर्षाको सम्भावना, सतर्क रहन आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २१ गते शुक्रबार ०८:३७

नेपालमा बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भएको छ । केही दिनयता लगातार वर्षा हुँदा जनजीवन कष्टकर बनेको छ ।

पूर्वी क्षेत्रमा भने क्रमिक सुधार

पोखरा

 

पश्चिम नेपालका जिल्लाहरुमा आइतबारसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालको पूर्वी क्षेत्रमा भने क्रमिक रुपमा मौसममा सुधार हुनेछ ।

 

महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेशदेखि पूर्वतिर शुक्रबारबाट मौसममा क्रमिक सुधार हुँदै जाने महाशाखाको अनुमान छ ।

 

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पनि सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ । नेपालमा बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भएको छ । केही दिनयता लगातार वर्षा हुँदा जनजीवन कष्टकर बनेको छ ।

 

अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली छ । बाँकी प्रदेशहरूमा भने सामान्य बदली रहेको र सुदूर पश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार साँझ ६ : ४५ बजेको रेकर्ड अनुसार विगत २४ घण्टामा ९० दशमलव ६ मिलिमिटर पानी परेको छ ।

 

प्रकाशित मिति २०७९ असोज २१ गते शुक्रबार ०८:३७
हजुरको प्रतिक्रिया