२०८३ साउन २१ गते बिहीबार

सहकारी कर्मचारीलाई गोली हानेको आरोपमा ३ भारतीयसिहत ४ जना पक्राउ

सहकारी कर्मचारीलाई गोली हानेको आरोपमा ३ भारतीयसिहत ४ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ३ गते बिहीबार १२:४६

प्रहरीले बलरा नगरपालिकाकाे वडा ७ मा  एक घरमा लुकेर बसेको अवस्थामा चारै जनालाई नियन्त्रणमा लिएको हो ।

सर्लाही

सर्लाहीको सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र प्रमुख साजन कार्कीलाई गोली प्रहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । वाग्मती नगरपालिका–१ मिलनचोकस्थित सहकारीको सेवा केन्द्रका  कार्कीलाई गोली हानेको आरोपमा पक्राउ पर्नेमा भारतको बिहार राज्यका १९ वर्षीय आलोक सिंह, १९ वर्षीय सौरभकुमार यादव र १९ वर्षीय गुलसन कुमार सिंह रहेकाे प्रहरीले बताएकाे छ । घटनाको मुख्य योजनाकार  सर्लाहीको धनकौल गाउँपालिका–१ का ३२ वर्षीय डिजे भन्ने धीरेन्द्र सहनीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

रकम लुटपाट गर्ने उद्देश्यका साथ सहकारी प्रमुखमाथि गोली प्रहार गरी भारतीय नम्बरको मोटरसाइकलमा भागेका तीन जनालाई प्रहरीले नेपाल–भारत सीमाबाट  नियन्त्रणमा लिएको हो । प्रहरीले बलरा नगरपालिकाकाे वडा ७ मा  एक घरमा लुकेर बसेको अवस्थामा चारै जनालाई नियन्त्रणमा लिएको हो । प्रहरी टोली घरमा पुग्दा अभियुक्तहरू भाग्न खाेजेपछि प्रहरीले एक राउण्ड गोली प्रहार गरेको थियो । गोली सहनीको खुट्टामा लागेको र उनको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

सहकारीको सेवा केन्द्रमा बुधबार बिहान साढे १० बजे रकम लुट्ने उद्देश्यका साथ गोली प्रहार भएको थियो । गोली लागेर गम्भीर घाइते भएका कार्कीको काठमाडौंमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति २०७९ कात्तिक ३ गते बिहीबार १२:४६

हजुरको प्रतिक्रिया